बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

सुशील सुवेदी
सिन्धुपाल्चोक – कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ ।

कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पिआरटी) को बैठकले यस्तो सिफारिस गरेको हो । एम्बुलेन्स सेवा सञ्चालन निर्दे्शिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने प्रनाउ काफ्लेले बताउनुभयो । जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ ।

कोषमा रकम जम्मा

मेलम्ची नगरपालिका रु २५ लाखको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ । रु २५ लाखको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकालाई र नेपाल बैंक लिमिटेडले रु ३५ हजार सहयोग गरेको छ । नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।

स्वाथ्यकर्मी २४सै घण्टा काममा

सुनकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको छ । गापामा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मीलाई यस्तो ड्युटीको व्यवस्था मिलाइएको हो ।

दैनिक रु एक हजार २०० भत्ता दिएर स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको गाउँपालिकाका अध्यक्ष श्रवण जिसीले जानकारी दिए । गाउँपालिका भर १० स्वास्थ्यचौकी छन् भने ३५ स्वास्थ्यकर्मी कार्यरत छन् । प्रत्येक स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्ट, अहेव र अन्य दुई सहायक कर्मचारी छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्