पाँचबुदे सहमति भएपछि बाबुरामको शव बुझ्न परिवार सहमत

बुटवल – पाँचबुँदे सहमति भएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ ।

कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको १६ गते मृत्यु भएको थियो । तर उनको मृत्यु भइसकेपछि आएको रिपोर्टमा उनलाई संक्रमण नभएको पाइयो । समयमा उपचार नपाएर आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृतककी श्रीमती रिताले छानविन नभएसम्म शव नबुझ्ने अडान लिइन् ।

त्यही कारण ११ दिनदेखि बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा थियो ।

बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएको छ । वार्तामा मृतकका परिवारलाई दिने गरी आधारभूत राहत कोष बनाउने सहमति भएको छ, जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ ।

साथै थप आर्थिक सहयोग जुटाइने छ । दाताहरुको सहयोगबाट बुधबार नै साढे ८ लाख रकम संकलन भइसकेको युवा उद्यमी जगत पोखरेलले बताए ।

यसैगरी मृतकका दुई छोरालाई उच्च शिक्षासम्म पठनपाठनमा सहयोग गर्ने र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाई सैनामैनामै स्थानीय सरकारले योग्यताअनुसार रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले बताए ।

सहमतिअनुसार लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको थापाको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ ।

पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भएपनि थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । चैत पहिलो साता मात्र दुबईबाट नेपाल फर्किएका थापा चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । तर अस्पतालमा उपचारकै क्रममा उनको १६ गते निधन भएको थियो ।

अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्