किसानको राहत मन्त्रिपरिषदमै थन्कियो

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि १६ दिनदेखि देश लकडाउनमा रहँदा यतिबेला हरेक क्षेत्र प्रभावित भएका छन् ।

लकडाउनबाट प्रभावित विभिन्न क्षेत्रमा सरकारले राहत वितरण शुरु गरे पनि किसानका लागि हालसम्म कुनै राहत घोषणा हुन सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लकडाउनका कारण प्रभावित किसानका लागि राहतको व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगे पनि हालसम्म पारित भएको छैन ।

कृषि मन्त्रालयका अनुसार मन्त्रिपरिषद्मा प्रस्तुत राहतको प्रस्ताव अन्य मन्त्रीहरुलाई अध्ययन गर्नका लागि दिइएको छ । तर हालसम्म मन्त्रीहरुले आफ्नो राय मन्त्रिपरिषद्मा प्रस्तुत नगरेका कारण किसानहरु राहतबाट बन्चित भइरहेका हुन् ।

राहतका लागि प्रस्ताव प्रस्तुत भएपछि दुई पटक मन्त्रिपरिषद्को बैठक बसिसकेको छ तर हालसम्म किसानलाई राहतबारे कुनै निर्णय भएको छैन ।

पोल्ट्रीका किसानले दाना नपाउँदा जिउँदो कुखुरा र चल्ला खाल्डोमा पुरिरहेका छन् । दुध बिक्री नहुँदा कतिपयले सडकमा पोखिरहेका छन् भने कतिपयले गाई, भैँसीलाई नै दुध खुवाउने गरेका छन् । तरकारी बिक्री नहुँदा खेतमै कुहिरहेका छन् तर सरकार अझै किसानलाई राहतबारे विचार विमर्शमै रहेको राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए ।

कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले मन्त्रालयबाट राहतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइए पनि हालसम्म कुनै निर्णय नभएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्