कैलालीसँग जोडिएका झोलुङ्गेपुलमा ताला लगाइयो, डुङ्गा समेत बन्द, आवतजावत ठप्प

सुर्खेत – सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना भाइसरसको संक्रमण देखिएपछि कैलालीसँग सीमा जोडिएका सुर्खेतका स्थानीय तहरूले उक्त जिल्लाबाट आवागमन बन्द गराएका छन् ।

पश्चिम सुर्खेतका चौकुने, बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाले कैलालीसँग आवातजावत बन्द गर्न झोलुंगे पुल र डुंगासमेत बन्द गरेका छन् ।

कैलालीसँग धेरै सीमाना जोडिएको चौकुने गाउँपालिका हो । गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गराइएको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिनुभयो ।

कैलालीसँग जोडिएको भेरी नदीको पुल, चौकुनेबाट कैलालीतर्फको बडीगाउँ जोड्ने कर्णाली नदीको फेरी र डुंगा बन्द गराइएको अध्यक्ष शाहीले जानकारी दिए । यस्तै चौकुनेको कुमालाबाट कैलालीको सोल्टा जोड्ने पुल पनि बन्द गराइएको छ ।

सुर्खेत र कैलाली जोड्ने सीमा नाका केउडी–रागामलेखा, मौरीवन–ताम्चा, सोवानचौर–सावा, बगेला–पुण्डन बन्द गरिएको अध्यक्ष शाहीले बताए ।

यस्तै कैलालीसँग जोडिएको कोलीमार, माटुमोल, टटाली, तुकेबलाटा, तालगाउँमा रहेका झोलुंगे पुलहरु पनि बन्द गरिएको उनले जानकारी दिए ।

झोलुंगे पुलमा गाउँपालिकाको टोली नै पुगेर तारबार गरिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।

‘सुदूरपश्चिममा कोरोनाको संक्रमण भेटिएको छ, सीमाना भएकाले यताबाट र त्यताबाट आवतजावत गर्नेहरू धेरै हुन्छ,’ अध्यक्ष शाहीले भने, ‘ती व्यक्तिका कारण कोरोना नभित्रियोस् भनेर हामीले सबै नाका बन्द गरिदिएका छौं।’

चौकुने गाउँपालिकाले कर्णाली नदीमा डुंगाबाट पनि वारपार गर्न बन्देज लगाएको छ भने पौडेर पनि वारिपारि जान नपाइने निर्णय गरेको छ ।

यस्तै पञ्चपुरी नगरपालिकासँग पनि कैलालीसँग जोडिएको छ । पञ्चपुरीले पनि आफ्नो स्थानीय तहसँग जोडिएका सबै नाका बन्द गरेको छ ।

पञ्चपुरीबाट कैलाली जोड्ने कुइने र जंगलाघाटमा रहेका झोलुंगे पुलहरू बन्द गरिएको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारीसँग वार्ता गरेर सीमानामा पाँच जना प्रहरी राख्ने व्यवस्था पनि मिलाइएको उनले बताए ।

सुर्खेतको पश्चिम क्षेत्रका भारतबाट आउने मानिससमेत सुदूरपश्चिम हुँदै गाउँ भित्रिने हुँदा कोरोनाको जोखिमलाई मध्यनजर गरी नाका बन्द गरिएको थापाले बताए ।

बराहताल गाउँपालिकासँग कैलालीको चिसापानी जोडिन्छ । गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माका अनुसार कैलालीसँग जोडिएको गाउँपालिकाको वडा नम्बर ३ को सीमा बन्द गर्न छलफल छ ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सीमाना जोडिएको ठाउँमा गाउँपालिकाको तर्फबाट स्वंयसेवक खटाएर यताबाट जानेलाई यतै र उताबाट आउनेलाई उतै रोक्ने योजना बनाइएको बताए ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारदेखि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाउने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्