वडाध्यक्ष हुने क्षमता नभएका सभामुख हुनुको असरः न सांसदहरुले टेर्छन्, न कुनै ऐनकानुन नै बन्छ !

अनुसा थापा
भक्तपुर – वडाध्यक्षको जिम्मेवारी वहन गर्न नसक्ने व्यक्तिलाई सभामुख बनायो भने के हुन्छ ? अहिले ठ्याक्कै त्यस्तै भएको छ । सदन हाँक्न सक्ने क्षमता नभएकालाई सभामुख बनाउँदाको असर अहिले छर्लङ्ग देखिएको छ । सदन अवरोध भएको भर्यै छ । कानुन बनाउनुपर्ने सांसदहरु रमिता देखाएर बसेका छन् । सदनले एउटा पनि नयाँ कानुन बनाउन सकेको छैन् । जनताले तिरेको कर ‘वालुवामा पानी हालेसरह’ भइरहेको छ । राज्यको ढुकुटीबाट दैनिक सांसदहरुको तलब भत्ता र सेवासुविधाका निम्ति करोडौं रुपैयाँ खर्च भइरहेको छ । तलबभत्ता, सरकारी गाडी, ड्राइभर, इन्धन गरेर जनताले तिरेको कर सिद्धयाउने कामबाहेक केही प्रगति हुन सकेको छैन् । सदन चलेको ६ महिना हुन लागिसकेको छ । तर, अहिलेसम्म राम्ररी सदन चलेको छैन् । सबै सांसद कहिलेपनि सदनमा उपस्थित हुँदैनन् । कहिले को झल्किन्छन्, कहिले को ? सदन सँधै रित्तो नै देखिन्छ । न कुनै ऐनकानुन नै सदनबाट पारित हुन सकेको छ । जनताले तिरेको करबाट अर्बौं रुपैयाँ खर्च गरेर निर्वाचन आयोगले २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन गरायो ।

तर, त्यसको उपलब्धि के भयो त ? जनता घण्टौंको बाटो हिँडेर मतदान गर्न गए । दिनभरि घामपानी नभनि लाइन बसे । यद्यपि, उनीहरुले के पाए ? एकातिर कर सखाप भयो अर्कोतिर जनताले दुःख पाए । जति ऐनकानुन पारित हुनुपथ्र्यो, त्यो हुन सकेको छैन्, किन ? वास्तवमा भन्ने हो भने सभामुख देवराज घिमिरेसंग सदन चलाउने क्षमता नै छैन् । १५ दिनमा बल्लतल्ल सदन डाँक्ने, त्यहीमाथि सांसदहरु उपस्थित नहुने । अनि सांसदको संख्या पुगेन् भनेर सदन ‘डिसमिस’ बनाइदिने । पहिलो कुराः सांसद सदनमा उपस्थित नै हुँदैनन् । दोस्रोः आएका पनि मस्त निद्रामा हुन्छन् । अनि कसरी कानुन बन्छ । कानुन बनाउने सांसदहरुले केही जानेका छैनन् । राम्ररी नेपाली भाषा बोल्न र पढ्न त जान्दैनन् । सभामुख घिमिरे सांसदहरुलाई सदनमा उपस्थित गराउनसमेत असफल छन् । बैठकमा उपस्थित नहुने सांसदलाई त कारबाही गर्नुपर्ने हो । तर, त्यो पनि गर्न सकेका छैनन् । सित्तैमा जनताले खाईनखाई तिरेको कर पचाउन पाइन्छ ? सांसदहरुलाई लाज लाग्नुपर्ने हो तर के गर्नु सबै लाज पचेका छन् ।
सदनमा त सक्दो जनताको समस्या उठाउनुपर्ने होइन् र ? जनताले आफ्नो अभिभावक भनेर सांसद बनाएर पठाएका होइनन् ? तर, जनताकै कुरा उठाउन किन आनाकानी ? कुनै बेला सभामुखले सदनमै जुत्ताको थप्पड पनि खाए । झण्डै दुई दशकअघिको कुरा हो, सांसद गोल्छे सार्कीले सभामुख रामचन्द्र पौडेललाई जुत्ताले हिर्काएका थिए । ऐनकानुन पनि पास गर्न नसक्ने, बोल्नलाई समय पनि नदिने भएपछि उनले जुत्ताले हिर्काए । अहिलेका सांसदसंग आफ्नो दिमाग नै छैन् ।

पार्टीको सभापतिको बोली बोल्छन् । जनताका लागि होइन्, पार्टीका सभापतिका लागि सांसद भएका हुन् । सांसद होइन्, पार्टी सभापतिको झोले भन्नुपर्छ, यिनीहरुलाई । एमालेबाट निर्वाचित भएर आएका सांसदहरु केपी ओलीको गुनगान गाउँछन् । रास्वपाका सांसदहरु रवि लामिछानेको र कांग्रेसीहरु शेरबहादुर देउवाको । जनताले तिरेको करबाट बिहानबेलुका भात खाएका सांसदहरुले जनताकै सोझो गर्न सकेका छैनन् । कुनै क्षमता नै छैन् यिनीहरुसंग । एउटा कागजमा टिपोट गरेर ल्याउँछन्, त्यही पढेर सुनाउँछन् । बजारमा के भइरहेको छ ? जनता कुन अवस्थामा छन् ? यिनीहरुलाई थाहा छैन् । जनता र राष्ट्रको हितमा कुरा कोही बोल्दैनन् । बजारमा आर्थिक मन्दी छ । बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बिहानबेलुकाको छाक टार्न सर्वसाधारणहरुलाई महाभारत छ । व्यापार व्यवसाय ठप्प छ । देश अरुको गुलाम बनिरहेको छ । सहकारीले निक्षेप फिर्ता नदिएर बचतकर्ताहरु सडकमा ओइरिएका छन् । विदेश जाने युवाको संख्या निरन्तर बढ्दै गएको छ । व्यापार घाटा बढेको बढ्यै छ । सरकारी खर्च धान्न नसकेर सरकारले विदेशीसंग ऋण लिनुपर्ने अवस्था छ ।
जनताले यी सब कुरा नियालिरहँदा सांसदहरुको आँखामा पट्टी बाँधिएको छ ? कहाँ के भइरहेको छ ? भन्ने नै यिनीहरुलाई थाहा छैन् । यस्तालाई कुन मुखले माननीय भन्ने ? सांसद भन्न जनतालाई नै लाज लाग्न थालिसक्यो । यिनीहरुको पारा देखेर लाज पनि लजाउँछ । जुनसुकै पार्टीको होस्, सबै उस्तै छन् । आफ्नो धोक्रो भर्न गएका हुन् । सदनमा २७५ जना सांसद छन् । तर, तीमध्ये एक जना सांसद पनि राज्य र जनताका लागि आएका होइनन् । सबै दलाली त हुन् । कोचाँहि दुधले धोएको छ र ? पूरानाले राष्ट्रियता बेचेर खाइहाले । नयाँको पारा यस्तो छ । युवापुस्ता भन्यो तर सोचविचार केही छैन् । कुनै सेयर दलाली सदनमा छन् त कुनै घरजग्गा । टेलिभिजनमा बुरुकबुरुक उफ्रिएर चर्चामा आएका व्यक्ति पनि सांसद बनेका छन् । नेताको नाकको डाँडी भाँच्नुपर्छ भनेर घोक्रो सुक्नेगरी कराउनेको क्षमता जनताले देखिसके । अभियन्ताका नाममा अंकुत सम्पत्ति जोडेर सदनमा पुग्ने पनि छन् ।

भारतीय र अमेरिकी जासुसहरु पनि सांसद बनेका छन् । अनि देश विकास गर्नलाई के चाहियो ? विभिन्न क्षेत्रका ठगहरुले भरिएको छ, हाम्रो सदन । चौधरी ग्रुपका मालिक विनोद चौधरी पनि सांसद छन् । देशका एक मात्र डलरपति जसले राज्यलाई विगतदेखि कर छल्दै आएका छन्, त्यस्ता व्यक्तिलाई माननीय भन्नुपरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ठगहरु पनि सांसद छन् । पूराना होस् या नयाँ सबै कमाउनका लागि मात्र आएका हुन् भन्ने त प्रष्टै देखिन्छ । पाउने हो भने त यिनीहरुले देश बेच्न पनि बेर लगाउँदैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानालाई हटाउन सदनमा मतदान गर्नुपर्छ । यी दुईटैको सदनमा काम छैन् । यता, भ्रष्टाचारीहरुको फाइल पनि भटाभट खोल्नुपर्छ । राम्रो काम गर्नलाई किन ढिलासुस्ती । राष्ट्रमाथि हानिनोक्सानी पुर्याउनेलाई कुनै पनि हालतमा छोड्नुहुँदैन् । ठूलै नेता भएपनि छोड्नुहुँदैन् । गलत काम गर्ने छुट कसैलाई पनि छैन् ।

राजश्व छल्ने, सरकारी, गुठी मठमन्दिरको जग्गा व्यक्तिको नाममा लैजाने, कालोबजारी गर्ने, सिण्डिकेट लगाउने, बचतकर्ता रुवाउने लगायतलाई कानुनको दायरामा ल्याउनैपर्छ । २०७४ सालमा जनताले एमालेलाई बहुमतका साथ निर्वाचित गराए । सातै प्रदेशमा एमालेको सरकार बन्यो । संघीय सरकारमा पनि केपी ओली प्रधानमन्त्री बने । तर, देश चलाउन नसकेपछि उनले दुई पटक संसद विघटन गरे । त्यसपछि सर्वोच्च अदालतले एमालेको सरकार फालिदियो । संघबाट ओली हट्नेबित्तिकै सातै प्रदेशमा एमालेको सरकार हट्यो । २०७८ असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेबित्तिकै एमालेले ९ महिनासम्म सदन अवरोध गर्यो । सरकारलाई त्यत्रो समय काम गर्न दिएनन्, एमालेका सांसदहरुले । तर, त्यतिबेला पनि एमालेका सांसदहरुले तलबभत्ता लिए, सरकारी गाडी पनि चढे । सदनमा जाने तर ऐनकानुन पारित गर्न नदिने । एमालेको पारा देखेका जनताहरुले २०७९ को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाइदिए ।

पाँच वर्ष विपक्षमा बस्नुपर्ने देखेपछि ओलीको रातको निद्रा हरायो । गठबन्धन फुटाएर ओलीले प्रचण्डलाई बालकोटस्थित आफ्नो निवासको बार्दलीमा पुर्याए । तर, प्रचण्डलाई ओलीबाट पाएको धोका राम्रोसंग स्मरण थियो । केपी ओली ‘फट्याहा’ नेता हो भन्ने कुरा जनतालाई पनि थाहा छ । उनलाई आफ्नो पदको मात्रै माया छ भन्ने प्रमाणित भइसकेको छ । उनी आफ्नो फाइदा मात्रै हुन्छन् । उनले सभामुख घिमिरेसंग मिलेर सदन अवरोध गर्ने र प्रचण्डलाई संसद विघटन गर्न लगाउने योजना बनाएका छन् । कि प्रचण्डलाई आफ्नो पार्टीसंग मिलेर नयाँ सरकार बनाउन लगाउने कि कांग्रेस र माओवादीको गठबन्धन फुटाउने । सत्ता हेर्नुभन्दा पनि देश र जनता हेर्नुपर्ने होइन् र ? पदका लागि पार्किङ्ग गर्नुको साटो देशलाई निकास दिने बाटो समाइदिएको भए हुन्थ्यो । सत्ता मोहले देश सकाइसकेको छ । अझैपनि हानाथाप गर्ने हो भने देश जटिल मोडमा जान्छ । अहिले सांसदहरुले बोलेका र गरेको जनताले देखिरहेका छन् । यसको नतिजा सांसदहरुले २०८४ सालको चुनावमा पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्