सहकारीका कारण बचतकर्ताको बेहालः एकातिर पैसा पनि गुम्यो, अर्कोतिर ज्यान पनि गयो !

अनुसा थापा
भक्तपुर

अहिले बजारमा नाम चलेका सहकारीहरु दिनदहाडे भागिरहेका छन् । कतिपय सहकारीका सञ्चालक गायब छन् त कतिपय सहकारी बन्द गरिएको छ । कान्तिपुर, शिवशिखर, देउराली, गौतमश्रीलगायत हजारौं सहकारी टाँट पल्टिसकेको छ । सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताहरु तनावमा परेका छन् । यता, आफैंले राखेको पैसा फिर्ता नपाएपछि बचतकर्ताले आत्महत्या गरेको खबरहरु बाहिर आइरहेका छन् । एकातिर पैसा पनि गुम्यो अर्कोतिर ज्यान पनि गयो ।

हरेक सहकारीको अवस्था नाजुक बनेको छ । सहकारीहरु धमाधम डुब्न थालेपछि बचतकर्ताहरु चिन्तित बन्न थालेका छन् । बचतकर्ताहरु यतिबेला ‘मर्नु कि बाँच्नु’ को अवस्थामा पुगेका छन् । अधिकांश सहकारीका सञ्चालकहरु सम्पर्कविहिन बनिसकेका छन् । कतिपय त मुलुक छोडेर भागेको भन्ने पनि बाहिरिन थालेको छ । सर्वसाधारणको बिसौं खर्ब रुपैयाँ लिएका सहकारीका सञ्चालक भाग्दा वा डुबाउँदासमेत सरकारले यसतर्फ ध्यान दिएको छैन् ।

सहकारीको लुटको धन्दा अहिले छरपष्ट भइसकेको छ । सहकारीका सञ्चालकहरु यसरी दिनदहाडे गायब हुँदा पनि सरकारले बेवास्ता गरिरहेको छ । जसका कारण बचतकर्ताहरु रमिते बनेको सरकारप्रति आक्रोशित बनेका छन् । सरकारले न ती सञ्चालकलाई पक्राउ गर्न सकेको छ न त्यस्ता सहकारीको दर्ता खारेज गर्न । काठमाडौं उपत्यकालगायत मुलुकभरका सबै सहकारी डुबिसकेको छ । बचत गर्ने शुन्यमा झरिसकेका छन्, पैसा फिर्ता माग्नेको लाइन छ ।

सञ्चारमाध्यमले सहकारीका बारेमा धमाधम समाचार बाहिर ल्याउन थालेपछि पनि अधिकांश बचतकर्ताहरु डुब्नबाट जोगिएका छन् । केही महिनाअघि एक जना बचतकर्ता जग्गा बेचेको पैसा राख्न सहकारीको खोजीमा थिए । उनले शिवशिखरमा पैसा राख्ने निधो गरे । तर, त्यतिबेलै शिवशिखरका बारेमा समाचार बाहिर आयो । त्यसपछि उनले शिवशिखरमा गएर बुझे । त्यहाँ गएर बुझ्दा सम्पूर्ण छर्लङ्ग भयो । शिवशिखरमा पैसा निकाल्नेको लाइन देखेर उनी तर्सिए ।

शिवशिखरको अवस्था देखेपछि सहकारीमा पैसा नराख्ने भन्दै फर्किएको उनी बताउँछन् । अघिल्लो दिनसम्म बजारबाट पैसा उठाइरहेका सहकारी भोलिपल्ट गायब हुने क्रम बढेको छ । बजार प्रतिनिधिले अघिल्लो दिन पैसा उठाउँछन्, भोलि त सहकारी नै भागिसकेको हुन्छ । यो बेतिथि अहिले बजारमा व्यापक देखिन थालेका छ । शुरुका दिनदेखि सहकारीले मनलाग्दी गर्दै आएको थियो । देशको आर्थिक क्षेत्रमा तीन खम्बा भनिएको सहकारीले सरकारले बनाएको ऐनकानुनलाई धोती लगाइदियो ।

प्रावधान मिचेर जथाभावी लगानी गरियो । यता, बचतकर्ताले पनि आफ्नो बचत कहाँ लगानी गरेको छ ? बचत सुरक्षित छ कि छैन् भनेर बुझ्ने कोशिस गरेनन् । लगेर पैसा राखिदिएपछि काम नै सिद्धिएको जस्तो गरे । अहिले आएर त्यसकै परिणाम भोग्नुपरेको छ । बचतकर्ताहरुले सोधीखोजी नगर्दा सहकारीको ठग्ने मनोबल बढेको हो । बाहिर बोर्ड टाँगिरहेको हुन्छन् तर भित्री ढोकामा ताला लगाएर राखिएको हुन्छ । एक वर्षअगाडि ‘मै हुँ’ भन्ने सहकारी पनि बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगिसकेको छ ।

यता, घरभाडा र कर्मचारीको तलबको कुरै छोडौं । भुरादेखि बुढासम्म सहकारीको अवस्थाबारे जानकार छन् । सहकारीमा पैसा राख्न हुँदैन्, सहकारीहरु टाँट पल्टिसक्यो, जतिबेला पनि कुलेलम ठोक्न सक्छन् भन्ने सबैलाई थाहा छ । जो अलिक बाठाटाठा थिए, उनीहरुले त पहिल्यै आफ्नो पैसा निकालिसकेका थिए । बजारमा मन्दी देखिनेबित्तिकै उनीहरु पैसा निकाल्नतर्फ लागिपरे । तर, सहकारीको विश्वासमा परेका सोझासाझी त चार्लमचुर्लुम्म गए ।

ब्याजको लोभमा परेकाहरुले न ब्याज पाए न साँवा । अहिले आएर सबै पैसा गुमाउनु परेको छ । सहकारी विभागका अनुसार मुलुकभर ३५ हजार २३९ वटा सहकारी दर्ता छ । त्यसमा करोडौ जनताको खर्बौं रुपैयाँ डुबेको छ । तर, सरकार मौन बस्दा बचतकर्ताहरु आक्रोशित बनेका छन् । सरकारले न सहकारीका सञ्चालकलाई पक्राउ गर्छ न पैसा फिर्ता गर्न कुनै पहल गर्छ । विज्ञापन बोर्डले समेत सहकारीमा पैसा नराख्नु भनि सुसूचित गराउँदैन् । सरकारले त सञ्चारमाध्यमको जति भूमिका पनि निर्वाह गर्न सकेन् ।

सहकारी नियमन गर्न सरकारका यत्रा निकाय छन् । तर, कसैले चासो देखाएको छैन् । सहकारीमन्त्री रञ्जिता श्रेष्ठलाई जनता ‘बाँचुन् कि मरुन्’ मतलब छैन् । सहकारी विभागका महानिर्देशक नमराज घिमिरे देखेर पनि अनदेखा गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि जनताप्रति जिम्मेवार भएनन् । पछिल्लो समय बुझ्दै जाँदा सहकारीमा दुई थरीका व्यक्तिहरुले पैसा राखेका छन् । एउटा बिहान कमाएर बेलुका खानेले सहकारीमा बचत गरेका छन् ।

सहकारीले बैंकभन्दा बढी ब्याज दिने भएकाले त्यही लोभमा परेका पैसा राखेका हुन् । अर्को स्रोत नखुलेको रकम सहकारीमा राख्ने गरिएको छ । किन कि सहकारीले स्रोत नै माग्दैन् । पैसा कहाँबाट आयो ? भनेर सहकारीले खोजी गर्दैन् । सहकारीलाई जसरी हुन्छ बजारबाट पैसा उठाउनु मात्र छ । भाग्ने त भागिहाले । नभागेका सहकारीहरुले पनि पैसा फिर्ता गर्न सकिरहेका छैनन् । सञ्चालकहरु भन्छन्,‘हाम्रो लगानी घरजग्गा, सेयर र गाडीमा डुब्यो ।’ सहकारीले हिजो पनि ब्याजकै प्रलोभन देखायो, आज पनि त्यही गरिरहेको छ ।

सहकारीले २२ प्रतिशत ब्याज दियो । अहिले पनि त्यति नै ब्याज दिने भनेर बचतकर्तालाई लोभ्याइरहेको छ । ब्याजको लोभमा साँवा नै जान्छ भन्ने चेतना सर्वसाधारणमा आउन जरुरी छ । किन कि सहकारीले उग्रपात नै गरिसकेको छ । यस्तो अवस्थामा पनि सहकारीको ब्याजको जालोमा पर्ने हो भने भोलि पुर्पुरोमा हात राख्नुभन्दा अन्य केही विकल्प हुँदैन् । सहकारीका सञ्चालकहरुले अहिले बचतकर्तालाई भुल्याउने नयाँ योजना ल्याएका छन् ।

मुद्दती खाताको जम्मा गरिएको रकमलाई झिक्न नदिनका लागि ब्याजको पासो हालेर नवीकरण गर्ने काम गर्दै आएका छन् । पैसा फिर्ता नदिने, ब्याजको पासो हाल्ने अनि जबरजस्ती नवीकरण गराउने । आपतविपत् परेको बेलामा काम लाग्छ भनेर राखेको पैसाले नै अहिले अधिकांशलाई धुरुधुरु रुवाएको छ । सहकारीमा पैसा भएर के गर्नु फिर्ता नगरेपछि ? सहकारीले पैसा फिर्ता नगर्दा कतिपयले औषधी खान सकेका छैनन् । कोठाभाडा तिर्न धौं धौं परेको छ ।

एउटै घरमा सात वटासम्म सहकारी सञ्चालनमा छन् । सहकारीहरु खुल्ने क्रम बढेपछि सर्वसाधारणले विश्वास गरे । अहिले त्यही विश्वासले कन्तबिजोग बनाएको छ । सहकारीले यत्रोलाई लुट्दाखेरि पनि स्थानीय सरकार कहाँ छ ? जनप्रतिनिधिहरु कुन दुलोभित्र पसेका छन् ? जनप्रतिनिधिहरुको त विगतदेखि नै सहकारीका सञ्चालकसंग साँठगाँठ थियो । सहकारीको कार्यक्रममा पुगेर तिनलाई ठग्ने मनोबल दिने त जनप्रतिनिधि नै हुन् । जनप्रतिनिधिहरु सहकारीको सामु लाचार बनेका छन् ।

प्रहरी प्रशासनले पनि केही गर्न सकेको छैन् । एकाधमा समस्या देखिनेबित्तिकै स्थानीय तह र प्रहरी प्रशासनले निगरानी बढाउनुपथ्र्यो । अहिले त सबै भागिसकेका छन् अब के के निगरानी ? बाटोमा साग बेच्नेदेखि नेतासम्मको पैसा सहकारीमा छ । कर्मचारी, पत्रकार, व्यापारीलगायत हरेकको पैसा सहकारीले पचाइदियो । सहकारीले कसैलाई पनि बाँकी छोड्न । कुनै व्यक्तिले सापटी पैसा लियो र फिर्ता गरेन् भने प्रहरीले ठगी मुद्दा चलाउँछ । तर, सरकारले नै सहकारीलाई ठग्ने लाइसेन्स दियो ।

गायक पशुपति शर्माले एउटा गीत गाएका थिए जुन अहिले आएर सत्य प्रमाणित भएको छ । उनले गीतमा भनेका थिए,‘लुट्न सके लुट, नेपालमै छ छुट ।’ लुट्नेले लुटिहाले, सरकारले केही सकेन् । सरकार हात बाँधेर बसेपनि नागरिक आफैं चेतनशील हुनुपर्छ । ब्याजको लोभमा सहकारीमा पैसा राख्नु भनेको ‘आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु’ हो । डुबेकाहरुले पनि अरुलाइृ बचाउने काम गर्नुपर्छ । अन्य सहकारीझैं राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको अवस्था पनि नाजुक बनेको छ ।
केही समययता त्यहाँ पनि पैसा निकाल्नेको भीड छ । बचतकर्ताहरुले बचत गर्न छोडिसकेका छन् । उनीहरुको ‘रातमा निद्रा न दिनमा भोक’ छ । अरु सहकारी घरजग्गा, सेयरमा लगानी गरेर डुब्यो, सिन्सियरलाई चाँहि थोत्रा ट्याक्सीले डुबायो । सबै सहकारीको बेहाल छ । त्यसैले सबै जना सतर्क बन्न जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्