भारतद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, १६८ रेल सेवा बन्द, घर फर्कन चाहने नेपाली प्रभावित हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले १४ घण्टा जनता कर्फ्युको समेत घोषणा गरेका थिए ।
भारतले संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन ।

विदेशबाट फर्केका भारतीय एवं विदेशी पर्यटकका कारण संक्रमण बढेपछि भारतले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको हो । भारतमा पहिलो संक्रमण चीनको वुहानबाट फर्केका केरलाका एक विद्यार्थीमा देखिएको थियो । त्यसपछि पुष्टि भएका अधिकतर संक्रमित पनि विदेशबाट फर्केकाहरू छन । भारतको नयाँ निर्णयका कारण काठमाडौंबाट नयाँदिल्ली, नयाँदिल्ली, बनारस, बैंग्लोर र मुम्बईमा हुँदै आएका उडान बन्द हुनेछन । यी गन्तव्यमा नेपाल वायुसेवा निगम, बुद्ध एयर, इन्डिगो, एयर इन्डिया र विस्ताराले उडान गर्दै आएका थिए । विस्ताराले मार्च २१ देखि ३१ सम्म उडान बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अब नेपालीले भारत हुँदै तेस्रो मुलुक उड्न पनि पाउने छैनन् ।

भारतमा कोभिड–१९ को त्रास बढ्दै गएपछि केही दिनयता दिल्ली, मुम्बई, चण्डीगढ, बैंग्लोर, चेन्नईलगायतका सहरबाट नेपाली घर फर्किने क्रम बढेको छ । तर रेल सेवा बन्द गरिएपछि उनीहरूलाई असर पर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्