रुस र चीनबीच सुरक्षा सम्बन्ध विस्तार गर्ने सहमति

चीनको भ्रमणमा रहेका एक वरिष्ठ रुसी सुरक्षा अधिकारीले बेइजिङसँगको सम्बन्धलाई सबल बनाउनुलाई क्रेमलिनले उच्च नीतिगत उदेश्य बनाउने बताएका छन् । नेशनल सेकुरिटी काउन्सिलका सचिव निकोलाई पत्रुशेभले ‘बेइजिङसँग वृहत्तर साझेदारी तथा रणनीतिक सहकार्य मजबुद बनाउने रुसको विदेश नीतिको प्राथमिकता रहेको’ बताए । काउन्सिलको अध्यक्षता रुसी राष्ट्रपति पुटिन स्वयमले गर्छन् र पत्रुशेभ पुटिनको विश्वसनीय अधिकारी मानिन्छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका शिर्ष अधिकारी गुओ शेङकुनसँगको भेटवार्तामा बोल्ने क्रममा सोमबार पत्रुशेभले ‘वर्तमान ििस्थ्तमा हाम्रा मुलुकहरुले आपसी सहकार्य विकासमा जोड दिनु पर्ने’ बताए ।
वार्तापछि पत्रुशेभको कार्यालयले जारी गरेको वक्तव्यमा दुवै पक्षले ‘उग्रवादीका क्रियाकलापविरुद्ध एक हुन र दुई देशको संवैधानिक व्यवस्था कमजोर बनाउने विदेशी प्रयाससँग जुध्न एकअर्कासँग सूचना आदानप्रदानलाई विस्तार गर्ने’ सहमती गरेको बताए ।

चिनियाँ र रुसी अधिकारीहरुले साईबरसुरक्षाको विषय पनि सहकार्य वृद्धि गर्ने जोड दिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अघिल्लो साता उज्बेकिस्तानमा भेट भएको थियो ।
दुई नेताको भेटपछि चिनियाँ सरकारले जारी गरेको वक्तव्यमा युक्रेनको बारेमा स्पष्ट रुपमा उल्लेख नभएको भए पनि सीले रुसका ‘प्रमुख चासोहरु’लाई ‘बलियो समर्थन’ गर्ने बताए ।

गत विहिबार उज्बेकिस्तानमा भएको भेटमा पुटिनले युक्रेन संकटमा सी जिनपिङको सरकारले अंगालेको ‘सन्तुलित’ मार्गको प्रशंसा गरेका थिए । साथै त्यस समय उनले युक्रेन युद्धलाई लिएर बेइजिङको ‘चिन्ता’को लागि वार्ता गर्न तयार रहेको बताएका थिए ।
सी र पुटिनबीच सांघाई कोअपरेसन अर्गनाईजेसन(एससीओ)को सम्मेलनको साइडलाईनमा भेटवार्ता भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्