किन गर्छ मानिसले आत्महत्या ?

विष सेवन गर्दागर्दैको अवस्थामा फेला पारेर समयमै अस्पताल पु¥याएकोले बचेको थियो रमेश । छोरालाई बचाउन सकेकोमा उसका बाबुआमा लगायत परिवारका सबै सदस्य खुसी थिए । उनीहरुलाई के थाहा त्यो खुसी केही दिनको मात्र हो भनेर । एक महिना पनि बित्न नपाउँदै उसले फेरि विष सेवन गरेछ । “बेहोसीको अवस्थामा उसलाई अस्पताल त पु¥याइयो तर बचाउन सकिएन” भन्छन् उनका बाबु रमानाथ ।

नेपालमा हरेक दिन १९ जना र एक वर्षमा ६,२५२ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ । लकडाउनको समयमा यो संख्या बढेर सात हजार नाघेको छ । यसमध्ये महिला ४३ प्रतिशत र पुरुष ५७ प्रतिशत रहेको छ (२०१९—२०२० को प्रहरी विभागको तथ्याङ्क) । विश्व स्वास्थ्य संगठन (ध्ज्इ) का अनुसार हरेक वर्ष विश्वभरमा लगभग ८ लाखभन्दा बढी मानिसहरुले आत्महत्या गर्छन् । हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ ।

के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्न आँट गर्छ त मानिस ? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता अरुमा हुँदैन किनकि अरुले त्यो दुः ख पीडा र डिप्रेशनको निराशाजनक अवस्थालाई मनको त्यो गहिराइमा अनुभव गरेको हुँदैन । जसले आत्महत्याको कोसिस गर्छ वा आत्महत्या गर्छ, उसले मनको त्यो अन्तरतममा असीम पीडाको अनुभूत गर्छ, जसबाट निस्कने कुनै विकल्प देख्दैन ।
व्यक्ति पिच्छे यसको कारण अलग अलग हुन्छ । किनकि हरेक व्यक्तिको आ—आफ्नो छुट्टै स्वभाव निर्माण भएको छ । त्यही अनुसार हरेक चीजवस्तुलाई हेर्ने र ग्रहण गर्ने आफ्नै मूल्य र मान्यता छ । त्यही कारणले प्रत्येक व्यक्तिलाई खुसी बनाउने र दुःखी बनाउने चीज, वस्तु वा परिस्थिति अलग अलग नै हुन्छ । जब जीवन कुनै कारणले अत्यन्त कष्टप्रद, समस्याग्रस्त हुनपुग्छ र त्यसको निवारणको बाटो कतै भेट्दैन, तब एकमात्र विकल्पको रुपमा आत्महत्यालाई रोज्न पुग्छ मानिस ।

आत्महत्याको कारण
१. परिस्थितिजन्य कारण
२. मानसिक वा भावनात्मक कारण
१. परिस्थितिजन्य कारण

  • सम्बन्ध विच्छेद
  • पारिवारिक समस्या
  • शारीरिक समस्या (कुनै जटिल रोग)
  • लागु औषध दुव्र्यसन÷मादक पदार्थको सेवन
  • भयङ्कर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व (जसलाई आफूले विशेष ठानेको हुन्छ) उसको आत्महत्याको खबर
  • रिसको आवेगमा
  • जिज्ञासाको कारण (बालबालिकामा हुन सक्ने)
  • स्कुल वा कार्यक्षेत्रमा समस्या
  • बेरोजगारी
  • आर्थिक तथा कानुनी समस्या
  • कुनै पनि समस्या जसको समाधान कतै पनि देखिदैन

२. मानसिक वा भावनात्मक कारण

  • निराशाबादी चिन्तन
  • समस्यामा जेलिएको महसुस गर्नु
  • जीवनप्रतिको अवमूल्यन
  • बाँच्नुको औचित्य नदेख्नु
  • जीवनमा कुनै उद्देश्य नहुनु
  • मानसिक समस्या (डिप्रेशन, बाइपोलार डिसअर्डर, एड्जस्मेन्ट डिस्अर्डर, सिजोफ्रेनिया)
  • बढी खाने वा नखाने समस्या (इटिङ डिसअर्डर)
  • आत्महत्या गर्ने मानिसले देखाउने लक्षण
  • आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा लेख्ने गरेको हुन्छ । अरुको लागि उसको कुरा जोक जस्तो लाग्न पनि सक्छ ।
  • आत्महत्या गर्नको लागि प्रयोग गरिने साधन (डोरी, चक्कु, विषादि औषधी आदि) तिर बढी आकर्षित हुन्छ । उसले योजना बनाइरहेको हुन्छ, कुन चीजद्वारा सजिलै मर्न सकिन्छ ।
  • साथीभाइ, आफन्तसँग बिदा मागिरहेको हुन्छ । परिवारको लागि आफू गएपछि पर्न सक्ने अप्ठ्यारोको लागि पनि सकेसम्म व्यवस्था मिलाउन खोजिरहेको हुन्छ । आफ्ना सामानहरु अरुलाई बाँड्न सक्छ, जुन पहिला आफ्नो स्वामित्वमा राखेको हुन्छ ।
  • दुःखी, निराश देखिन्छ ।
  • आफ्नो बारेमा लापरवाही हुँदै जान्छ ।
  • पहिले खुसीले गर्ने कामप्रति रुचि कम हुँदैजान्छ ।
  • धुम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्छ ।
  • अरुबाट अलग्गिने, एक्लै बस्न रुचाउने हुन थाल्छ ।
  • आफूप्रति घृणाको भाव देखाउन थाल्छ ।
  • अचानक खुसी र शान्त देखिन थाल्छ । माथिका लक्षणमध्ये केही लक्षण केही समय अघिदेखि देखिएको छ । एक्कासी खुसी देखियो भने त्यो व्यक्तिले मर्नको लागि पूरै योजना बनाइसक्यो । अब उसले आफ्नो जीवन समाप्त गर्दैछ भनेर बुझ्दा हुन्छ ।
    आत्महत्या जुनसुकै उमेरका मानिसले पनि गर्छन् । तर पनि विशेषगरि १५ वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिले बढी गर्ने गरेको अध्ययनले देखाउँछ । यो उमेर भनेको सिर्जनशील उमेर हो । यस्तो उमेरमा कुनै व्यक्तिले आत्महत्या ग¥यो भने उसको परिवारमा कस्तो अवस्था आइपर्ला यो कुरा सोच्न पनि गारो हुन्छ । मर्ने इच्छा कसैलाई हुँदैन तर पनि मानिसले आफैँलाई मार्न तयार हुन्छ, चाहे जुनसुकै कारणले किन नहोस् । यसलाई रोकथाम गर्नु अति नै आवश्यक छ ।

रोकथामका उपाय
१. लक्षणको पहिचान
आत्महत्या रोकथामको लागि सबभन्दा महत्वपूर्ण र पहिलो काम भनेको आत्महत्या गर्ने व्यक्तिले देखाउने लक्षणको बारेमा स्पष्ट हुनु आवश्यक छ । कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन । विभिन्न रिसर्च अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८०—९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएको हुन्छ । बाँकी केहीले रिसको आवेगमा आएर वा बालबालिकाको हकमा जिज्ञासाको कारणले पनि आत्महत्या भएको पाइएको छ । त्यसैले परिवारको सदस्य वा साथीभाइमा यस्ता लक्षणहरु देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।

२. प्रश्न सोध्ने
साथीभाइ तथा परिवारका कुनै पनि सदस्यमा यदि यस्ता किसिमका कुनै लक्षण देखिन थालेमा उक्त व्यक्तिसँग उसको समस्याको बारेमा सोधपुछ गर्नुपर्छ । सोधपुछ गर्ने व्यक्तिलाई समस्या भएको व्यक्तिले विश्वास गर्ने पनि हुनुपर्छ । विश्वासिलो व्यक्तिलाई मात्र मनको कुरा पोख्न सक्छ । त्यसैले उसका समस्याका बारेमा राम्ररी धैर्यताका साथ सोधपुछ गर्नुपर्छ । जस्तै—आत्महत्याको विचार कहिलेदेखि आउन थाल्यो ? दिनमा यस्तो विचार कति पटक आउँछ वा कहिले कहिले आउँछ ?

३. कुरा सुन्ने
समस्याग्रस्त व्यक्ति जब कुनै व्यक्तिप्रति विश्वस्त हुन्छ, त्यसपछि उसले आफ्ना समस्या व्यक्त गर्न सक्छ । उसले भनेका सबै कुरा बिना पूर्वाग्रह (ननजजमेन्टल भएर) सुनिदिनुपर्छ । ऊप्रति सहानुभूति प्रकट गर्नुपर्छ । उसका हरेक कुराप्रति सहमति जनाउनुपर्छ । सुन्ने व्यक्तिलाई उसको कुरा सामान्य लाग्न सक्छ तर त्यही कुरा उसको लागि भयङ्कर पीडादायी भएको हुन सक्छ । यस्तो अवस्थामा उसलाई सल्लाह, सुझाव दिने, तर्क वितर्क गर्ने, नैतिकताको शिक्षा दिने, धर्म संस्कारका कुरा सिकाउने, जीवनदर्शनका कुरा सुनाउने, पारिवारिक माया मोहका कुरा गरेर मोड्न खोज्नु मूर्खतापूर्ण कार्य हो । यसले झन उत्साही बनाउछ आत्महत्या गर्न । त्यसैले उसका प्रत्येक कुरा ध्यानपूर्वक सुनिदिने र उसको पीडा आफूले पनि महसुस गरेको विश्वास दिलाउन सक्नुपर्छ ।

४. उपचारको लागि सहयोग
वास्तवमा मान्छे मर्न चाहदैन । उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पको रुपमा रोजेको एउटा बाटो हो आत्महत्या । यो अवस्थामा पुगेको व्यक्तिलाई उसको पीडा सुनिदिएर केही मानसिक राहत दिँदै छिटोभन्दा छिटो मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग दिलाउनु आवश्यक हुन्छ । उनीहरुको सल्लाह बमोजिम उपचार गराउनुपर्छ । फलोअपमा लैजानुपर्छ । यस बाहेक पनि उसलाई खानपानमा हेरचाह गर्ने, शारीरिक क्रियाकलापतिर विस्तार विस्तार अग्रसर गराउने, एक्लै हुन नदिने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

अत्यन्त महत्वपूर्ण कुरा
आत्महत्याको सबभन्दा ठूलो कारक तत्व भनेको डिप्रेशन हो । हालसम्मको रिसर्च अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेशनको सिकार भएको पाइएको छ । डिप्रेशनको औषधी खाइरहेको बेलामा पनि कसैकसैलाई आत्महत्याको विचार घट्नुको सट्टा झन बढ्न सक्छ । त्यसैले पहिलो पटक डिप्रेशनको औषधी खुवाइरहेको छ वा मात्रा परिवर्तन गरिएको छ भने त्यो व्यक्तिलाई विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । किनकि औषधीले पनि आत्महत्याको विचार आउन सक्छ । सुरुका २ महिना आत्महत्याको खतरा बढी हुने संभावना हुन्छ । औषधी खाइरहेको छ अब केही हुन्न भनेर ढुक्क हुनुहुँदैन ।
यदि सहयोग चाहिएमा निम्न ठेगानामा सम्पर्क गर्नसक्नुहुन्छ :
महाराजगन्ज टिचिङ अस्पतालको साइकोलोजी डिपार्टमेन्ट
मानसिक स्वास्थ्य अस्पताल, पाटन
अथवा आफ्नो पहिचानमा भएका मेन्टल हेल्थ प्रोफेशनलहरु
आत्महत्या आफैँमा एउटा जटिल समस्या भएपनि यसलाई न्युनिकरण गर्न सकिन्छ । त्यसको लागि एक व्यक्ति वा संस्था पर्याप्त हुँदैन । देशका सम्पूर्ण अंगहरु जस्तै सरकारको माथिल्लो तहमा रहेर नीति निर्माण गर्ने देखि लिएर त्यसलाई कार्यान्वयन गर्ने स्थानीय सरकार लगायत स्वास्थ्य, शिक्षा, संचार, कानुन सबै क्षेत्रबाट उचित समन्वय र सहकार्य हुनु आवश्यक छ । तब मात्र हामीले आशातित सफलता हासिल गर्न सक्छौँ ।

महालक्ष्मी आचार्य (मनोपरामर्शदाता)
सारथि फाउण्डेशन नेपाल, ९८४३२२८४५१

[email protected]

२०७९ जेठ १४ गते नागरिक न्युजमा प्रकाशित

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्