कोरनाका कारण गलैंचा निर्यात हुन छाडेपछि आम्दानी शुन्य, गुजारा चलाउनै मुस्किल

सुशील सुवेदी,

सिन्धुपाल्चोक – करिब २० वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा गलैंचा र गार्मेन्ट अग्रस्थानमा थिए । तर अहिले गलैंचा र गार्मेन्टको निर्यात न्यून परिमाणमा मात्र हुन्छ । अन्तराष्ट्रिय बजारमा गलैंचा निर्यात हुन छोडेपछि सिन्धुपाल्चोकमा गलैंचा बुनेर जीवन गुजारा गर्नेहरूलाई अप्ठ्यारो परेको छ ।

घरमै बसेर बुन्न र आम्दानी गर्न सकिने भएपनि बजार नभएकै कारण गलैंचा उद्योग धरासयी बन्न थालेको छ । सोही कारण, पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका हिरा तामाङलाई घर कसरी चलाउने भन्ने चिन्ता छ ।

गलैंचाको अत्यधिक माग हुने चिनमा कोरोना भाईरस संक्रमणका कारण गलैंचा निर्यात ठप्प छ । त्यसैले गलैंचा उद्योगमै निर्भर दुईसय भन्दा बढि परिवार आर्थिक समस्यामा परेका छन् । गलैंचा बुनेर स्वरोजगार भएकाहरू बढिजसो महिला छन् । उनीहरू खेतबारीको कामसँगै साँझ बिहान गलैंचा बुन्छन् । महिलाहरूका लागि आम्दानीको गतिलो स्रोत बनेको गलैंचा उत्पादन र निर्यात ठप्प जस्तै बनेपछि मासिक २० हजारसम्म कमाउने स्थानीय सुकुमाया तामाङलाई गुजारा चलाउनै मुस्किल परेको छ ।

जिल्लाको हिमाली भेगका धेरैजसो स्थानमा गलैंचा बुन्नेहरू भेटिन्छन् । आजभोली गाँउघरमा रहेका साना उद्योगले पनि आत्मनिर्भर बन्नमा सहयोग गरिरहेको छ । गलैँचा निर्यात नहुँदा यसअघि पाउँदै आएको पारिश्रमिक पनि घटेको अर्का स्थानीय कर्मु लामाले गुनासो गरे । स्थानीय सरकारले साना उद्योगलाई प्रोत्साहन गर्दै उत्पादन भएका गलैँचालाई स्वदेशमै विक्रि गर्ने वातावरण बनाउन सके आफूहरूलाई सजिलो हुने उद्यमीहरू बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्