स्वर्ण पदक विजेता संगिता धामीलाई शैल्यशिखर नगरपालिकाको सम्मान

विनोदसिंह धामी
दार्चुला – शैल्यशिखर नगरपालिकाले हालै सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल संगिता धामीलाई सम्मान गरेको छ ।
नगरपालिकाले विहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी धामीलाई सम्मान गरेको हो । पुर्खौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका भएकी संगितालाई नगरपालिकाले नगद रु १ लाख ५ हजार तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेको नगर प्रमुख अमर सिंह धामीले बताए ।

नगरकार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार संगितालाई सम्मान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए । १३ औं दक्षिण एशियाली खेलकुदमा कुस्ती खेलको ५५ केजी समुहमा भाग लिई स्वर्ण पदक जित्न सफल संगिताको उज्वल भविष्यको कामना गर्दै सम्मान तथा नगद प्रदान गरिएको उनले बताए ।

पदक बिजेता संगितालाई समग्र शैल्यशिखर बासी आम नागरिक एवं दार्चुलाबासीको तर्फबाट चन्द्र र सुर्य अंकित राष्ट्रिय झण्डालाई खेलका माध्यमबाट अन्तराष्ट्रिय स्तरमा फहराउन निर्वाह गर्नु भएको भुमिकाको कदर गर्दै सम्मान तथा नगद प्रदान गरिएको उनको भनाई छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख धामीले खेल प्रतिभाको सम्मान गर्न नगरपालिका संधै प्रतिबद्धा रहेको बताए । खेलाडीलाई खेल क्षेत्रमै टिकाई राख्न तथा नयाँ आउने प्रतिभालाई हौसला प्रदान गर्न स्वर्ण पदक बिजेता संगितालाई सम्मान गरिएको उनको भनाई छ । सम्मानित भएकी कुस्ती खेलाडी संगिता धामीले नगरपालिकाले गरेको सम्मानले खेल प्रतिको रुचि झन बढ्दै गएको प्रतिक्रिया दिएकी छिन् ।

पुर्खौली ठाउँमा बोलाएर नगरपालिकाले सम्मान गरेको प्रति संगिताले खुसी समेत व्यक्त गरेकी छन् । खेलमा भाग लिदा पदक जित्छु भन्ने आशा रहेको तथा स्वर्ण पदकै जितेर ल्याउछु भन्ने आस नरहेको उनले बताइन् । सम्मान कार्यक्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता माधवराज भट्टले संगिताको खेल जिवनको उत्तरोत्तर प्रगतीको कामना गरे । नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानिय लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्