CORONA

नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा भारतमा चार जनाको ज्यान गयाे

भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा चार जनाको ज्यान गएको छ । दिल्लीको यमुनापार क्षेत्रमा सोमबार भएको हिंसामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । २५ जनाभन्दा धेरै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
प्रदर्शनकारीले ठाउँठाउँमा आगजनीसमेत गरेका छन् । बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कर्फ्यु लगाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदर्शनकारीलाई संयमता अपनाउन आह्वान गरेको बीबीसीले जनाएको छ ।
हिंसा फैलिएको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो । भारतले ल्याएको नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो ।
अब हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा ६ वर्षमात्र भारतमा बसेको वा काम गरेको भरमा अङ्गीकृत नागरिकता पाउन सक्नेछन् । तर मुस्लिम समुदायलाई भने कानुनले विभेद गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्