६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक : अर्थमन्त्री खतिवडा

काठमाण्डौ – अर्थ मन्त्री डा. युवराज खतिवडाले अहिले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताउनुभएको छ ।

ललितपुरको हरिहर भवनमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवन उद्घाटन गर्दै अर्थ मन्त्री खतिवडाले सरकारले आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको जानकारी दिनुभयो ।

सत्तामा रहँदा तीनरचार प्रतिशतमात्र आर्थिक वृद्धि गर्नेहरु अहिले आठ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्ने गरेको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कसैकसैले आर्थिक वृद्धि आठ प्रतिशत हुँदैन भनेर ठूलो बहस चलाइरहनु भएको छ तर अब बहसको स्तर नै पाँच प्रतिशतभन्दा माथि पुगेको छ । आफू सत्तामा रहँदा आर्थिक वृद्धिदर चार प्रतिशत पनि नपुगेको अनुभव बोकेर कति जना राज्य सञ्चालनबाट बाहिर जानुभएको छ । समाजले यी कुराको मूल्याङ्कन गर्छ । सरकारले एकपक्षीय ढङ्गले यी कुरा गरेको छैन । अङ्क पनि बोल्छन्, अनुभूति पनि बोल्छन्, त्यसको प्रभाव पनि बोल्छन्, त्यही कुराहरुलाई तपाईँहरुले समय–समयमा सार्वजनिक चासोको विषयको रुपमा छलफल चलाउन सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसँग छलफल चलाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले दुई वर्षमा औसतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको खतिवडाको भनाइ थियो । उहाँले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औसतभन्दा माथिको उपलब्धि भएको बताउनुभयो । उहाँले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खतिवडाले अनुसन्धान र तालिम अभिन्न अङ्ग भएकाले अनुसन्धानबिनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने प्रस्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्