जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख महरालाई न्याय

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पुर्पक्षका लागि थुनामा रहनुभएका महरा अब रिहा हुनेछन ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । यो घटना १३ असोजमा बाहिर आयो । त्यसबेला महरा र उनको सचिवालयले आरोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकाल्यो । १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । लगतै महराले सभामुख पदबाट राजीनामा दिए ।

यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् । उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् । पीडित भनिएकी महिलाले अदालतमा पनि बलात्कार प्रयास नभएको बयान दिएकी थिइन् । तर उपलब्ध प्रमाणका आधारमा महरालाई कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालतमा पुगे, उच्चले जिल्लाको आदेश सदर गर्‍यो तर, मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो । त्यसअनुसार सुरू भएको बहस आइतबार नै सकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्