नेपाल टेलिभिजन टेण्डर : पहिल्यै म्याच फिक्सिङ्ग

काठमाडाैँ –  नेपाल टेलिभिजन मुलतः सार्वजनिक प्रसारण संस्था हो । यसका हरेक क्रियाकलाप सार्वजनिक र पारदर्शी हुन जरुरी छ । पुरानो, सापेक्षित रुपमा भरपर्दाे र विश्वसनीय मानिदैँ आएकोमा पछिल्ला दिनहरुमा यसको साख घट्दै गएको छ ।
व्यापक संजाल भएको नाताले नेपाल टेलिभिजनको प्राविधिक पक्ष सुदृढ र गुणस्तरीय हुनु जरुरी छ । सरकारको व्यापक लगानी सहित देश तथा विदेशमा यसको प्रसारण घरघरमा पुगोस् भन्ने उद्देश्य लिएको नेपाल टेलिभिजनको प्राविधिक नेतृत्व खासगरी इन्जिनियरीङ्ग तर्फको नेतृत्व अत्यन्त फितलो छ । करोडौँ करोडको सामान हरेक बर्ष खरीद गर्ने गरिएको हुँदा इन्जिनियरिङ्ग महाशाखाको नेतृत्व प्राविधिक गुणस्तर कायम गर्नमा भन्दा त्यसबाट कसरी आर्थिक फाइदा लिन सकिन्छ भन्नेतर्फ बढी केन्द्रित छ ।

विगतमा सोनी, हिटाची, थमसन, लार्कन, अल्काटेल, पानासोनिक जस्ता विश्वस्तरीय कम्पनीका बर्षाेबर्ष टिक्ने सामान प्रयोग गर्ने नेपाल टेलिभिजनका केहि इन्जिनियरहरु अहिले सवभन्दा कमसल सामान खोज्दै एजेन्ट एजेन्टकोमा धाउदैँछन् । मूल्य महंगो नै तिर्छन तर सामान गुणस्तरहीन र निकम्मा ल्याउँछन् । सामान छिटो छिटो विग्रिन्छन् मर्मत गर्नमा कुनै उत्साह छैन तर नयाँ किन्नमा नै दोडिन्छन् । प्राय सबै सेटिङ्गमा नै हुन्छ पहिल्यै म्याच फिक्सिङ गर्छन ।

संस्थानकै उच्च व्यवस्थापनमा रहेका विष्णु न्यौपाने तथा चिन्तामणी बराल प्राविधिकहरुबाट संरक्षित सोहेतो नेपाल नै नेपाल टेलिभिजनको मुख्य आपूर्तिकर्ता हो । संस्थानका सिनियर प्राविधिक अधिकृतको नेतृत्वमा सबै सेटिङ्ग र फिक्सिङ्ग भइरहकेो छ । सोहेतोको लागि प्राविधिक मापदण्ड बनाइन्छ, इष्टिमेट गरिन्छ अनि पास गरिन्छ । अरु टेण्डर दाताहरुले अब त टेण्डर सम्म हाल्न छोडिसकेको तथ्य नेपाल टेलिभिजनका प्राविधिकहरु आफै बताउँछन । यसैले नेपाल टेलिभिजनको प्राविधिक संरचना अत्यन्त कमजोर हुदैँ गइरहेको छ ।
टेण्डरको सेटिङ्गको सबभन्दा ताजा र भद्दा नमुना हालै गरिएको स्याटेलाइट सम्बन्धी टेण्डरमा देखिएको छ । म्याच फिक्सिङको नाङ्गो नमुना स्पष्ट रुपमा यसैबाट पनि देख्न सकिन्छ । स्याटेलाइट व्याण्डवीथबाट चरम आर्थिक लाभ लिन हाल गरिएको बोलपत्र सम्बन्धी कागजातमा हदै सम्मको बदमासी गरिएको छ ।

हालको स्याटेलाइटको मूल्य बढी भयो भनेर पहिलेका र हालका केहि नेतृत्वको लगातार नियोजित र भ्रमपूर्ण प्रचार गरेर चरित्र हत्या गर्ने षडयन्त्र लगातार चल्दै आएको छ । त्यसको सट्टा सस्तो र संस्थानलाई आर्थिक फाइदा हुने गरी नयाँ व्यवस्था गर्न लागेको भ्रम फिजाइदैँछ । स्याटेलाइटको पहुँच र क्षमता कम नहुने गरी मूल्य घटाउनु अत्यन्त स्वागतयोग्य कुरा हो तर यसैलाई ठिक उल्टो रुपमा र आफ्नो स्वार्थमा प्रयोग गर्न र संस्थानका सिधा साधा कर्मचारीलाई भ्रम छर्न उनीहरु निरन्तर प्रयासरत छन् । कमिसनको चक्करले भर्खरै बन्दै गरेको नयाँ सरकार र राजनीतिक नेतृत्वलाई बुझ्ने समयसम्म नदिन र छिटो छिटो निर्णय गराउन दवाव बढाउदैँछन् ।

स्याटेलाइट आफैमा एक जटिल प्राविधिक विषय हो । यसको विश्लेषण गर्ने क्षमता नभई यस सम्बन्धी कागजात बनाउन अगाडि सर्नु मुर्खता बाहेक केही होइन । तर नेपाल टेलिभिजनका हाल यसमा संलग्न प्राविधिकहरु हेर्दा अत्यन्त लाजमर्दाै स्थिति छ । इतिहासकै सबैभन्दा फितलो नेतृत्व हाल इन्जिनियरिङ्गमा छ, ठुलो आशा राख्नु बेकार छ । क्षमता नहुनु बेग्लै कुरा हो तर स्याटेलाइट सम्बन्धी कार्यमा संलग्न प्राविधिकहरु अत्यन्त भ्रष्ट बदनाम र गैर जिम्मेदार समुहको रुपमा समेत चिनिएका छन् । यो झनै डरलाग्दो पक्ष हो । पाँच भाइहरुको नमुना समुह आफ्नो स्वार्थ सिद्ध गर्न कम्मर कसेर लागेका छन् । रामेश्वर शुक्ल, चिन्तामणी बराल, बरुण सिँह, अर्जुन बटाला र विश्वेश्वर पौडेल । भनिन्छ यसमा पनि शाखा प्रमुख बरुण सिँह प्राविधिक अर्जुन बटाला र विश्वेश्वर पौडेल आफ्नो स्वार्थ सिद्ध गर्न चरम दौडधुपमा छन् र सम्पूर्ण प्रक्रियामा सक्रिय छन् ।

चिन्तामणी बराल लोभ र लालचमा जहाँ जे पनि बन्न सक्ने र अति फितलो र चाकडीबाज र लम्पसारवादी व्यक्ति भएको नेपाल टेलिभिजनमा विशेष चर्चा हुने गर्दछ । शक्तिमा आउन लागेकाको पुजा गर्ने र जान लागेकोको सत्तो सराप गर्ने उनको बानी नै हो । बरुण सिँह केहि समय पहिले मात्र हालको शाखामा आएका बदनाम व्यक्ति हुन् । आईटी र पावर सम्बन्धी महत्वपूर्ण शाखाको जिम्मेवारी दिइएकोमा सो सम्बन्धी कुनैपनि कार्य इमान्दारीपूर्वक नगरी अनुचित आर्थिक लाभ मात्र लिन खोज्ने र व्यक्तिगत फाइदा नभई केहि गर्न नदिने कुनै काम अगाडी बढाउन नदिने भ्रष्ट व्यक्तिका रुपमा चिनिन्छन। हरेक चीज सेटिङ्गमा गर्छन र म्याच फिक्सिङ्ग गर्नमा माहिर छन् । कम्पनी कम्पनीको ढोका चाहार्छन । संस्थानको अटोमेशन, एसी, जेनेरेटर, ग्राफिक्स सम्बन्धी कार्यमा चरम भ्रष्टाचार गरेपछि उनी शाखाबाट कारवाही स्वरुप हालको शाखामा आएका हुन् । भनिन्छ कमिशनकै चक्करमा ग्राफिक्स उपकरण सप्लाइ गर्ने वास्प कम्पनीको भारतस्थित दिल्ली कार्यालयमा समेत उनी पैसा उठाउन पुगेका थिए । उक्त कम्पनीले नेपाल टेलिभिजनमा उजुरी समेत दिएको थियो । तरपनि उनको बानी फेरिएको छैन, उहीँको उहीँ छ र जस्ताको त्यस्तै छ ।

अर्जुन बटाला भर्खरै कोहलपुरबाट केन्द्रमा सरुवा भएका विवादास्पद कर्मचारी हुन् । उनलाई स्याटेलाइटको कखरा पनि थाहा छैन तर आफुलाई यसको विज्ञ ठान्छन् । यतिमात्र हैन आफु सुदूरपश्चिमको रहेको र हालको प्रधानमन्त्रीका मान्छेसँग सिधै सम्पर्क भएको भनी जो कोहिलाई धम्क्याउदै हिड्ने गरेका छन् । विश्वेश्वर पौडेल सदावहार युनियनमा सभापति छन् । उनले कहिल्यै चनाव लड्न पर्दैन । २–४ जना बटुल्छन । युनियनको बोर्ड टाँस्छन अनि व्यवस्थापनलाई धम्क्याउछन् ।

नेपाल टेलिभिजनमा आधिकारिक कर्मचारी संघ छ ।  २–२ बर्षमा खुला तथा पारदर्शी चुनाव हुन्छ, पदाधिकारी चयन हुन्छन् तर विश्वेश्वरले नेतृत्व गरेको युनियनको चुनाव कहिल्यै हुदैँन, गर्नु पर्दैन अनि समान हैसियत लिएर सधै थर्काउदै कमिसन माग्दै हिँड्ने गर्छन । सबभन्दा रमाइलो त के छ भने अर्जुन बटाला र विश्वेश्वर पौडेल एक आपसमा मारपीटमा समेत उत्रिएर पुलिस ठाना समेत पुगेको थिए । बर्षाैसम्म बोलचाल समेत थिएन तर अहिले कमिसनको कारण स्वार्थ मिलेको छ । त्यति जुनियर कर्मचारी भएर पनि व्यवस्थापनलाई धम्क्याउँछन । जुनसुकै तहमा पनि उत्रन तयार छन् । यिनिहरुको हिम्मतलाई मान्नैपर्छ । इन्जिनियरिङ्गको नेतृत्व कति निरिह, निक्कमा र बिकाउ छ यसैबाट अन्दाज गर्न सकिन्छ । यो सबैको नेतृत्व गर्ने रामेश्वर शुक्ल एक क्यामेरामेन हुन् । दुई चार पैसामा बिक्ने तीनले यत्रो करोडाैँको सपना देखेपछि यो गिरोहको पछि स्वतः लाग्ने नै भए ।

यस्ता व्यक्तिहरुको हातबाट स्याटेलाइट जस्तो जटिल प्रविधिको टेण्डर बनाउने दुस्साहस गर्नु आफैमा हास्यास्पद छ र त्यसो बोलपत्र सम्बन्धी कागजातमा स्पष्ट देखिएको पनि छ । सेटिङ्ग र म्याच फिक्सिङ्गको नाङ्गो नमुना पनि यसमा स्पष्ट देख्न सकिन्छ । बरुण सिँह, बटाला र विश्वेश्वर यसमा माहिर देखिएका छन् ।

१५० देशमा प्रशारण रहेको स्योटेलाइटलाई १५ वटा देशमा सिमित गरिएको छ । साउदी अरब, कतार, युएयई सार्क देशहरु अनि हङकङ, मलेशिया, सिंगापुर, ब्रुनाईको नाम लिइएको छ तर नाम भने ग्लोबल बीम लिइएको छ । १५ वटा देशमा मात्र आएपनि अहिलेको बोलपत्र अनुसार त्यो बोलपत्रदाता क्वालिफाई हुन्छ । यो सानो रिजनल बीमले पनि सजिलै भ्याउछ जुन अति नै सस्तो हुन्छ । के नेपाल टेलिभिजनले खोजेको त्यही हो ? युरोप, अफ्रिका, एशिया, अष्ट्रेलिया गरी कम्तीमा पनि सयभन्दा बढी देशमा आउनुपर्छ भनेर तोक्नु पने होइन ? अनि १५० वटा देशमा आउनेको मूल्य राखेर १५ वटा देशमा आए पुग्ने बोलपत्र सम्बन्धी कागज बनाउने ? यो सेटिङ्ग, म्याच फिक्सिङ्ग र भ्रष्टाचार नभए के हो ? अहिलेको बोलपत्र अनुसार जाने हो भने आठ सय डलर प्रति मेगाहर्ज प्रति महिना मूल्य पनि महंगो हो । किनकी यसको प्रशारण क्षेत्र नै हाल कायम रहेकोभन्दा एक तिहाई पनि छैन । व्यापक रुपमा कटौती गरिएको छ । तर उही गुणस्तर कायम गरी मूल्य घटाएको झुटो प्रचार गरिएको छ । प्रसारण क्षेत्रसँगै यसका क्षमता (पावर) पनि जोडिएको हुन्छ । अहिलेको बोलपत्रमा कहाँ कति पावर भन्ने उल्लेख छैन केवल एक दूई स्थानको मात्र दिइएको छ । यो सेटिङ्ग र म्याच फिक्सिङ्ग नभए के हो ?

स्याटेलाइटको अरविटल लोकेशन पनि अत्यन्त महत्वपूर्ण छ । नेपालको सन्दर्भमा सत्तरी देखि नब्बे डिग्री इष्टसम्मको लोकेशन सबभन्दा उपयोगी मानिन्छ तर ६६ देखि १०८ डिग्रीसम्म बोलपत्रमा तोकिएको छ, यो के आधारमा तोकिएको हो ? यो सेटिङ्ग र फिक्सिङ नभए के हो ?
आश्चर्यको कुरा त नेपालले आफै स्याटेलाइट राख्ने तयारी समानान्तर रुपमा गरिरहेको छ । बोलपत्रमा समेत पछि त्यसैमा स्थानान्तरण गरिने बाध्यकारी नियम स्पष्ट उल्लेख छ तर नेपालको आफ्नै अरविटल स्टल समेत यसमा समावेश गरिएको छैन । सरकारको नीति विपरीत सरकारकै स्वामित्व रहेको टेलिभिजनले अटेर गर्नु सेटिङ र फिक्सिङ्ग हो कि होइन ? नयाँ राजनीतिक नेतृत्व आएको बेला मन्त्री र सचिव नभएको बेला हतारमा प्रक्रिया बढाउनु सेटिङ हो कि होइन ? स्याटेलाइटको प्रमुख विशेषता त्यसमा रहेका पूमुख च्यानलहरु र स्थानीय च्यानलहरु छन कि छैनन भन्ने पनि हो । यसमा मौन रहनु सेटिङ्ग र फिक्सिङ्ग हो कि होइन ? आठ सय डलरमा आउने स्याटेलाइटको मापदण्ड बनाएर दुईहजार ६ सय डलर मूल्य राख्नु सेटिङ्ग हो कि होइन ?

गोप्य राख्नुपर्ने इष्टिमेट आफु एजेन्ट भएको कम्पनीलाई मात्र उपलब्ध गराउनु र बोलपत्र संम्बन्धी कागजात आफ्ना कम्पनीलाई पहिले नै उपलब्ध गराउनु सेटिङ्ग र फिक्सिङ्ग हो कि होइन ? यो नियम र कानुनको पनि धज्जी उडाएको हो कि होइन ? यसबाट इष्टिमेट रकम थाहा नभएकालाई असर गर्छ कि गर्दैन ? समय मै टेण्डर नगर्नु अनि समय बाँकि छैन अब छिटो छिटो नगरे पुरानै सम्झौता कायम हुन्छ भन्दै हतारिनु सेटिङ्ग र फिक्सिङ्ग हो कि होइन ? हालको स्याटेलाइट भन्दा क्षमता, पहुँच र गुणस्तरमा कमजोर स्याटेलाइट छानी पुरोनै आउछ भनेर लाभ लिन खोज्नु के हो ? अत्यन्त छोटो समयमा टेण्डर गरेर छिटो सक्न दवाव दिनु अनि प्रसारण क्षेत्र र क्षमता कम गरेर सस्तो स्याटेलाइट महंगोमा ल्याएर अनुचित आर्थिक लाभ लिन खोज्नु र व्यवापक प्रसारण क्षेत्र भएका हालका स्योटेलाइटको मुल्य घटायौँ भनेर संस्थानलाई ठगी गर्दै हिड्न् सेटिङ्ग हो कि होइन ?

यी माथिका त केहि उदाहरण मात्र हुन् । सुनिन्छ प्री विड मिटिङ्गमा यी प्रश्नहरु उठेका थिए तर यो सेटिङ्गमा मस्त रहेको गिरोहले कुनै चासो देखाएको छैन । यस्ता कयौँ अन्य बुदाहरु छन् जुन अहिले सम्म सुधारिएका छैनन् । बरुण सिँह आफैले महिनौँसम्म टेण्डर डकुमेन्ट अगाडी नबढाई अहिलै अब समय छैन भन्न सेटिङ्ग हो कि होइन ? कुनै पनि सामानको मूल्य त्यसमा रहेका विशेषताहरुमा भरपर्छ । मोबाइल त मोबाइल नै हुन तर हरेकको मूल्य किन फरकफरक हुन्छ ? टिभी सेट त सेट नै हो तर हरेकको मूल्य किन फरक फरक हुन्छ ? गाडी त सबै गाडी नै हुन् तर हरेक गाडीको मूल्य किन फरक फरक हुन्छ ? बुझ्न जरुरी छ । स्याटेलाईट छान्दा पनि अनेक कुरामा ध्यान दिन र बुझ्न जरुरी छ । यो बुझ्न त्यस सम्बन्धी ज्ञान भएका व्यक्तिहरु चाहिन्छन् । नेपाल टेलिभिजनमा थुप्रै सक्षम र क्षमतावान इन्जिनियर र प्राविधिकहरु छन् तर दुर्भाग्य विकाउ व्यक्तिहरुको हातमा अहिलेको डकुमेन्ट बनाउने जिम्मा परेको छ ।

स्याटेलाइट टेण्डरमा भएको म्याच फिक्सिङ्ग भत्किने डरले दर्जनौँ संसोधन हुदाहुदैँ नि सो सम्बन्धी जवाफ दिन बनाएको कार्यदलले अटेर गरेको बुझिएको छ । पहिले सेटिङ्ग मिलाएर बसेका व्यक्तिहरुले बरुण सिँह कार्यदलमा नभएतापनि उनैलाई हरेका मिटिङ्गमा बोलाई उनकै राय अनुसार चल्ने गरेको छ । अध्यक्ष र महाप्रबन्धकले समेत अहिलेको गुणस्तर र विशेषताहरु कमी नआउने गरी बोलपत्र बनाउन निर्देशन दिएको बुझिएको छ तर यो समुहले नटेरेको स्पष्ट देखिन्छ । अझ कर्मचारी संघले समेत यसको संसोधनको लागि आह्वान गरेसकेको छ तर उनीहरु टसमस भएका छैनन् । यसबाट यो म्याच फिक्सिङ कतिसम्म बलियो रहेछ थप रहस्यमय बन्दैछ ।

साँच्चिकै भाडा घटाउने भए अन्य बैकल्पिक उपायहरु छन् । मूल्य खासमा स्याटेलाइटको कभरेज क्षेत्र पावर प्रयोग गरिने फ्रिक्विन्सी अरविटल लोकेशन, सेवा अवरुद्ध हुन भएमा अपनाइने उपायहरु, त्यसमा रहेका लोकप्रिय विदेशी तथा स्वदेशी च्यानलहरु, त्यसको निर्माता, सेवा अवधि, त्यसभित्र प्रयोग गरिएका समान जस्ता थुप्रै कुरामा भरपर्छ, त्यस सम्बन्धी अध्ययन खै ?

नयाँ सरकारले काम गर्न मन्त्री र सचिव समेत नभएको बेला नेपाल टिभीको नीति र नेपाल सरकारको नीति विरुद्ध सम्पूर्ण शक्ति एकिकृत गरि मुठ्ठीभर व्यक्तिहरुको स्वार्थमा करोडौँको चलखेल हुनेगरी नेपाल टेलिभिजनको प्रसारणलाई  व्यापक रुपमा संकुचित गरी ठुलो आर्थिक लाभ लिन सेटिङ्ग र म्याच फिक्सिङ्ग गरको स्पष्टै देखिन्छ । जतिसुकै सेटिङ्ग र म्याच फिक्सिङ्ग गरेपनि त्यो ढिलो चाँडो सतहमा आइहाल्छ । म्याच फिक्सिङ्ग गर्नेहरुलाई संसारभर के कस्ता दण्ड, जरीवाना हुने गरेका छन्, नेपाल टेलभिजनको व्यवस्थापनले समयमै सोच्नु जरुरी छ । नभए सम्बन्धित निकायले पक्कै सोच्लान ।

नेपाल टेलिभिजन राष्ट्रको सम्पत्ती हो । सबै व्यक्तिले यसको क्रियाकलापमा चासो राख्नु स्वभाविक हो र सबैको अधिकार पनि हो र दायित्व पनि । नेपाल टेलिभिजन सुदृढ होस् र सबैको प्रीय होस् भन्ने सबैको चाहना छ र त्यसको लागि त्यहाँको हरेक क्षेत्रमा मौलाएको भ्रष्टाचार, सेटिङ्ग र म्याच फिक्सिङ्ग तुरुन्त बन्द हुन आवश्यक छ । भोली होइन आजै हुन आवश्यक छ ।

 

यो पनि पढ्नुहोस् 

नेपाल टेलिभिजन : बढ्दो अनियमितता

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्