काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन हुनुभएको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।
लामो रस्साकस्सीपछि कांग्रेसले संसदीय दलको नेता चयन गरेको हो। यसअघि आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने विषयमा सहमति जुटाएको थियो।
संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गरेपछि सहमति जुट्न सकेको थिएन।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आज बसेको कार्यसम्पादन समिति बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरिएको थियो।







