सशस्त्र प्रहरी बल, नेपालको आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय

 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय सरकारले गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले आगामी १८ वैशाखपछि संगठनको कमाण्ड सम्हाल्ने छन्।

वर्तमान आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन्।

आईजीपी बढुवाका लागि पौडेल पहिलो दाबेदार थिए। उनी १८ चैत २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका थिए। २०५८ मा सशस्त्र प्रहरी बल गठन भएपछि उनी त्यहीँ समायोजित भएका थिए।

पौडेलसँगै आईजीपीका लागि एआईजी वंशी दाहाल र एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए। तर वरिष्ठता र ज्येष्ठताका आधारमा पौडेललाई जिम्मेवारी दिइएको हो।

पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए। उनका प्रतिस्पर्धी दाहाल सोही वर्ष असोज २८ मा एआईजी बनेका थिए भने ठाडा मगर २ असार २०८२ मा मात्रै एआईजीमा बढुवा भएका थिए।

सेवा अवधिअनुसार पौडेल १८ चैत २०८४ सम्म, करिब दुई वर्ष, सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारीमा रहनेछन्। हालको नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण सोही मितिमा उनी अवकाशमा जानेछन्।

करियरका क्रममा पौडेल २०५८ मा डीएसपी, २०६३ मा एसपी, २०७० मा एसएसपी, २०७५ मा डीआईजी हुँदै २०७९ मा एआईजीमा बढुवा भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्