काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयले सूचना जारी गर्दै सम्बन्धित कार्यालयहरूलाई सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण पठाउन समेत आग्रह गरेको हो।
मन्त्रालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग कर्मचारीको विवरण माग गरिएको छ।
साथै, खटाइएका कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा कार्यस्थलमा हाजिर हुन र रमाना लिन निर्देशन दिइएको छ। विभिन्न स्थानमा सरुवा भए पनि कर्मचारी समयमै कार्यस्थलमा नपुगेको गुनासो आएपछि मन्त्रालयले यस्तो कडाइ गरेको जनाएको छ। सूचनामा तोकिएको समयसीमाभित्र हाजिर नभए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।






