काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले मन्त्रीको पदबहालीपछि एक महिनाको अवधिमा मन्त्रालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यप्रगति सार्वजनिक गरेको छ। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीलाई उच्च प्राथमिकतामा राख्दै नीतिगत सुधार, सेवा प्रवाहमा सुधार तथा प्रविधि विस्तारका कार्यहरू तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियामा उल्लेखनीय सुधार गरिएको छ। नयाँ निवेदनका आधारमा यातायात व्यवस्था विभाग बाट प्राप्त तथ्याङ्कलाई २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्र मार्फत छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। हालसम्म सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ सम्पन्न भइसकेको छ भने थप १७ लाख थान पुराना लाइसेन्स असार मसान्तसम्म छपाइ गर्ने गरी सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।
यसैबीच, हुलाक सेवा विभाग लाई ३० लाख थान हुलाक टिकट छपाइ गरी हस्तान्तरण गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै डिजिटल प्रविधिको विस्तारमार्फत नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।






