‘तीनजुरे बगान’ ब्रान्डको वाइन ल्याउने तयारी, अन्तःशुल्कमा ८० प्रतिशत छुट दिन आग्रह

काठमाडौँ – महालक्ष्मी नगरपालिका-२ स्थित तीनजुरे क्षेत्रमा सञ्चालनमा रहेको किवी उत्पादन तथा प्रशोधन उद्योगले स्वदेशी कृषि उपजमा आधारित उद्योग संरक्षणका लागि कर छुटको माग गरेको छ । वसन्तपुर तीनजुरे प्रालिद्वारा जारी प्रेस विज्ञप्तिमा किवी खेती र प्रशोधन उद्योगलाई प्रोत्साहन गर्न अन्तःशुल्कमा ८० प्रतिशतसम्म छुट दिन सरकारसँग आग्रह गरिएको हो ।

कम्पनीका अध्यक्ष दुर्गामणि पौडेलका अनुसार करिब १०० रोपनी आफ्नै र ६५ घरपरिवारका कृषकको ४०० रोपनी जमिनमा व्यावसायिक किवी खेती विस्तार गरिएको छ । विगत ९ वर्षदेखि पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङका कृषकबाट उत्पादित किवी खरिद गरी प्रशोधन तथा बजार व्यवस्थापनको काम गर्दै आएको कम्पनीले जनाएको छ ।

किवी खेतीमा उत्पादन आउन कम्तीमा पाँच वर्ष लाग्ने र लगानी लामो समयसम्म रोकिँदा व्यवसाय सञ्चालन चुनौतीपूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी उत्पादन लागत उच्च हुनुका साथै किवीबाट वाइन उत्पादन गर्दा लाग्ने अन्तःशुल्कका कारण बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको कम्पनीको भनाइ छ । हाल प्रति लिटर वाइन उत्पादनमा झन्डै ८१५ रुपैयाँ लागत पर्ने र कर तथा अन्य खर्च जोड्दा मूल्य अझै बढ्ने अवस्था रहेको उल्लेख गरिएको छ ।

कम्पनीले ‘तीनजुरे बगान’ ब्रान्डमा किवी वाइन उत्पादन गरी बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । तर, स्वदेशी उत्पादनमा कर भार बढी हुँदा लगानी जोखिममा पर्ने भन्दै नीति सुधार आवश्यक रहेको धारणा राखिएको छ । विज्ञप्तिमा स्वदेशी कृषि उपजमा आधारित उद्योगलाई प्रोत्साहन नगरेसम्म आयात प्रतिस्थापन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता सम्भव नहुने उल्लेख गरिएको छ । किवी खेतीका लागि नेपालका १५०० देखि २१०० मिटर उचाइसम्मका पहाडी भूभाग उपयुक्त रहेकाले यसको व्यावसायिक विस्तारको ठूलो सम्भावना रहेको पनि जनाइएको छ ।

कम्पनीले स्थानीय स्तरमै प्रशोधन उद्योग स्थापना गरी कृषकलाई बजार सुनिश्चित गर्ने, रोजगारी सिर्जना गर्ने र उत्पादन खेर जान नदिने लक्ष्य राखेको जनाएको छ । साथै, सरकारले कृषिमैत्री नीति ल्याई स्वदेशी उत्पादनलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्