इन्डियन प्रिमियर लिग क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । चेन्नईमा हिजो भएको खेलमा १ सय ५९ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा २ विकेट गुमाएर सहजै पूरा गरेको हो ।
पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । गुजरातका कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने अर्शद खानले २ विकेट लिए । जवाफी ब्याटिङमा गुजरातका साई सुदर्शनले ४६ बलमा ८७ रनको शानदार पारी खेले । उनले ७ छक्का प्रहार गरे । जोश बटलर ३९ रनमा अविजित रहँदा कप्तान शुभमन गिलले ३३ रनको योगदान दिए ।
यस जीतसँगै गुजरात अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने चेन्नई छैटौँ स्थानमा झरेको छ ।
आईपीएलमा आज बेलुकी दिल्लीमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच प्रतिस्पर्धा हुनेछ ।







