‘ए’ डिभिजन लिगमा मछिन्द्रले रच्याे इतिहास : बन्याे नयाँ च्याम्पियन

काठमाण्डौ – नेपाली फुटबलले नयाँ च्याम्पियन पाएको छ । जारी लिगको अन्तिम खेलमा आर्मीलाइ १-० गोलले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हाे ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशाला भएको खेलको ३३ औं मिनेटमा मछिन्द्र क्लबले उपहार गोल पाएको हो । रञ्जित धिमालले मध्य भागबाट गरेको फ्रिकिक क्लियर गर्ने प्रयासमा आर्मीका डिफेन्डर विकास तामाङले आफ्नै पोष्टमा गोल गर्न पुगे ।

त्यही गोल रोक्ने प्रयासमा आर्मीका गोलकिपर विकेश कुथु पोलमा ठोक्किएर घाइते भए । उनको कम्मरमा चोट लागेको छ र मैदानमा प्राथमिक उपचारपछि ब्लु क्रस अस्पताल लगिएको थियो । कुथुको स्थानमा विश्वास चौधरीले मैदान प्रवेश गरेका थिए । जारी लिगमा उनको पहिलो खेल हो ।

सो गोलले गर्दा मछिन्द्र क्लव च्याम्पियन बन्यो ।  ६८ औं मिनेटमा आर्मीका भरत खवासको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए । त्यस्तै ७९ औं मिनेटमा टंक बस्नेतको क्रसलाई गोलरक्षक विशालले बचाए । त्यस्तै ८५ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनाउने मौका गुमाउन पुग्यो । दिपक राईको फ्रिकिक गोल पोष्टबाहिर गयो ।

त्यसपछि दुई भर्सेस तीनमा नवयुग श्रेष्ठ चुक्न पुगे ।  खेलको अन्तिम समयमा आर्मीले पाएको कर्नर प्रहार मछिन्द्रका खेलाडीले असफल बनाए । अन्त्यसम्म आर्मीले कुनै गोल गर्न नसकेपछि मछिन्द्र क्लब च्याम्पियन बन्न पुग्यो ।

जितसँगै मछिन्द्रले १३ खेलबाट ३१ अंक जोड्दै उपाधि जितेको हो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्यो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । २०७० सालको लिगमा अहिले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका योहान कालिनले मछिन्द्रलाई लिगमा दोस्रो बनाएका थिए । त्यो नै क्लबको अहिलेसम्मको ठूलो सफलता थियो ।

भलादमी खेलाडीको रुपमा चिनिएका प्रवेश कटुवालले सम्हालेको मछिन्द्रले निर्णायक खेलमा आर्मीलाई पराजित गरी ऐतिहासिक रुपमा ए डिभिजन लिगको उपाधि उचालेको छ । गत संस्करणमा पुछारबाट दोस्रो भएपछि कारवाहीस्वरुप १ अंक गुमाएको मछिन्द्र लिगको १२ चरणसम्म आर्मीले जस्तै ९ जित, २ बराबरी र १ हारको नतिजा निकाले पनि १ अंकले पछाडि थियो ।

आजको खेल आर्मीका लागि बराबरी पर्याप्त भए पनि मछिन्द्रले जित्नैपर्ने थियो । दशरथ रंगशालाको मैदानमा मछिन्द्रका स्टार खेलाडीहरुले स्वभाविक जोश प्रदर्शन गरे र उपाधि सम्भव बनाए । आर्मी तेस्रो सिजनमा उपविजेतामै समेटियो ।

राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई ‘बी’, रन्जित धिमाल, विजय धिमाल, विशाल श्रेष्ठ (गोलरक्षक), देवेन्द्र तामाङलगायतका खेलाडीसँगै प्रतिबन्ध फुकुवा भएपछि अन्तिम खेलमा बिमल घर्तीमगरले समेत मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सहयोग गरे ।

ब्रिगेड ब्वाइजलाई २–० ले हराउँदै मछिन्द्रले लिगमा विजयी सुरुआत गरेको थियो । सातौं चरणमा हिमालयन शेर्पासँग अप्रत्यासित पराजय भोगेपछिका सबै चरणमा मछिन्द्र आर्मीसँग १ अंकको दूरीमै रहेको थियो ।

लिगमा मछिन्द्रको नतिजाः

१० जित, २ बराबरी र १ हार

मछिन्द्र २–० ब्रिगेड ब्वाइज
मछिन्द्र १–१ च्यासल
मछिन्द्र ३–० फ्रेन्ड्स
मछिन्द्र १–० एनआरटी
मछिन्द्र २–२ मनाङ
मछिन्द्र १–० जावलाखेल
मछिन्द्र ०–२ हिमालयन शेर्पा
मछिन्द्र १–० नेपाल पुलिस
मछिन्द्र २–० थ्रीस्टार
मछिन्द्र २–१ एपीएफ
मछिन्द्र ६–१ सरस्वती
मछिन्द्र ३–१ संकटा
मछिन्द्र : त्रिभुवन आर्मी

 

श्राेत : उज्यालो अनलाइन 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्