CORONA

अन्तरवार्ता : जनप्रतिनिधिको मुल्याङ्कन जनताले गर्छन – सपना राई (भिडियो सहित)

काठमाडौँ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राईले जनप्रतिनिधिको मुल्याङ्कन जनताले गर्ने बताएका छन् ।
आइतबार उपहारखबरसँग कुराकानी गर्दै उपाध्यक्ष राईले जनताले नै जनप्रतिनिधिहरुको कामको मुल्याङ्कन गर्ने बताएका हुन् । जब आफ्नो कार्यकाल सकिन्छ तब पनि जनताले उनलाई सम्झिए भने मात्रै कार्यकाल सफल भएको मान्न सकिने उनको तर्क छ । उनले भनिन्, ‘जब मैलै मेरो कार्यकाल सकेर जान्छु तब पनि जनता अहिलेको जति नै म सँग खुसी छन् भने म नागरिकको प्यारो हो, मैलै नागरिकको हित अनुसार काम गरेको हुन्छु, त्यतिबेला मैले प्राउड फिल गर्छु ।’

उपहारखबर कर्मी डम्बर मिश्रले दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई सँग गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचन भएको चार वर्ष वितिसक्यो, अब तपाईको कार्यकाल सकिन पनि थोरै समय छ कसरी वित्यो अहिलेसम्मको समय ? समग्रमा हेर्दा कसरी समिक्षा गर्नुहुन्छ आफ्नो कार्यकालको ?

हामी २०७४ साल असारको १४ गते निर्वाचित भयौँ, लगभग यतिबेला हाम्रो ४ वर्ष पुरा भएर केहि समय अगाडी बढी सकेको छ । नागरिकको मत माग्ने बेलामा नागरिकको थुप्रै समस्याहरु थिए, ती समस्याहरुसँग हामी जुध्न तयार छौँ भनेर हामीले भनेका थियौँ । त्यो काम चाही अहिले हामीले गरिरहेका छौँ । हाम्रो कार्यकाल सकिन केहि महिना बाँकी छ तथापी हामीले समय जति सकिदै जान्छ त्यति नै बढी काम गरिरहेका छौँ । हिजो हामीले १२ घण्टा काम गर्थ्यौ भने अहिले १४ घण्टा गरिरहेका छौँ । १४ घण्टा गर्थ्यौ भने अहिले १८ घण्टा गरिरहेका छौँ । जुन काम हामीले थालनी गरेका थियौँ त्यसलाई पुरा गर्नका लागि हामी हर्दम लागिरहेका छौँ ।

थुप्रै स्थानीय तहहरुमा अध्यक्ष र उपाध्यक्ष अर्थात प्रमुख र उपप्रमुखबीच तालमेल नमिलेको देखिन्छ । थुप्रै कुराहरुमा विवाद देखिन्छ, यहाँको गाउँपालिकामा के छ , अध्यक्ष ज्यू र तपाईको बीचमा कस्तो छ सम्बन्ध ?

मैले पनि यी कुराहरु थुप्रै सामाजिक सञ्जालमा देखेको छु । अब हाम्रो पनि ७५३ स्थानीय तहका प्रमुख –उपप्रमुखहरुमध्ये आधा जतिसँग कुराकानी हुन्छ, कतिपयले अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुखको तालमेल नमिलेको, कामहरुमा अध्यक्षले एक लौटी गरेको भन्ने कुराहरु आएको छ । त्यो स्वभाविक हिसाबले भन्नुपर्दा अध्यक्ष भनेको कार्यकारी पद हो, त्यै भएर उहाँले केही अगाडी जानुहुन्छ होला । मेरो गाउँपालिकामा त्यस्तो छैन जस्तो लाग्छ, किनभने प्रमुख भनेको प्रमुख हो । अध्यक्ष लाई जति चुनौती, समस्याहरु उपाध्यक्षलाई हुदैन । त्यहि भएर हामीले एक अर्कालाई सघाएर नै जाने हो । धेरै विवादमा जानु पर्छ जस्तो लाग्दैन मलाई (हासो) ।

उपाध्यक्षको संयोजकत्वमा गाउँपालिकाका कतिपय समितिहरु हुने व्यवस्था संविधानले नै गरिदिएको छ । यहाँ पनि पक्कै ती समितिहरुको संयोजक हुनुहुन्छ । गाउँपालिकाका योजनाहरुको अनुगमन कसरी गरिरहनुभएको छ ? मापदण्ड अनुसारका छन् की छैनन् ?

तपाईले भन्नु भएजस्तै उपाध्यक्षको संयोजकत्वमा नेपालको संविधानले व्यवास्था गरे अनुसार योजना अगुमन समितिको संयोजक उपाध्यक्ष हुन्छ । योजनाहरुको अनुगमनमा हामी आफै जाने गरेका छौँ । हामीले जुन योजहरुको लागि बजेटिङ गर्छौँ, अनि त्यसलाई कार्यान्वयनको पाटोमा लान्छौँ र त्यो काम भयो भएन भनेर हामी अनुगमनमा जाने गरेका छौँ । योजनाको अनुगमन भन्नाले हामीले योजना छुट्याउँदा वास्तविक आवश्यकताको आधारमा छुट्यायौँ की ? कतिपय योजनाहरु आवश्यकता हुँदाहुदै पनि कार्यान्वयन गर्न कठिन हुन्छ, त्यसलाई हामीले पर्याप्त समय दिन सकेनौँ की, त्यहाँको नागरिकलाई बुझाउन सकेनौँ की ? यस्ता यस्ता कुराहरुले पनि अनुगमको अर्थ राख्दछ । तथापी योजनाहरु सम्पन्न भईसकेपछि मेरो संयोजकत्वमा अनुगमनमा जान्छौँ ।  अनुगमनमा जाँदाखेरी हाम्रो प्राविधिक साथीहरुपनि हाम्रो साथमा हुन्छन् । अनुगमनको क्रममा हामीले योजनाको सम्झौता गर्दाको बखतको कति काम गर्नुपर्ने, के गर्नुपर्ने, भनेर सम्झौता गरेका हुन्छौँ । त्यो अनुसार काम भएको छ छैन भनेर प्राविधिकले जाँच गर्दछन् । यदि मापदण्ड अनुसारको काम भएको छ भने त्यसलाई हामीले फर्छ्यौट गर्दछौ । अनुगमन समितिको संयोजकले जब सम्म साईन गर्दैन तब सम्म ती योजनाहरुको अध्यक्षले भनेर, उपभोक्ता समितिले भनेर, कोही आफन्तले भनेर ती योजनाहरु फछ्र्यौट हुदैनन् ।

तपाई त महिला जनप्रतिनिधि पनि हो, खास गरेर महिला र लक्षित वर्गको बारेमा के काम गर्नुभयो ? ग्रामीण परिवेशमा त अहिले पनि महिलाहरु पछाडी नै परेको देखिन्छन् । यहाँले कसरी महिलाहरुको साथ दिइरहनुभएको छ ? के छ गाउँपालिकाका महिलाहरुको अवस्था ?

खास गरेर अहिले नेपालको संविधानले नै स्थानीय तहमा अध्यक्ष अथवा उपाध्यक्ष मध्ये एक जना महिला अनिवार्य गरेको छ । तर तपाईले भने जस्तै यसले का नेर छुन्छ भने यो अहिलेको परिस्थिति भनौँ, राजनीतिक अवस्था भनौँ या अहिलेको महिलाहरुको क्षमाता भनौँ हरेक कुराले महिलाई पछाडी पारेको छ । संविधानमा अध्यक्ष–उपाध्यक्ष अर्थात प्रमुख–उपप्रमुख मध्ये एक जना महिला अनिवार्य भनेको छ । तर हामी महिलाहरु प्राय लक्षित कोटामा मात्रै सिमित छौँ अर्थात उपप्रमुख वा उपाध्यक्षको कोटामा मात्रै छौँ । यसले गर्दा यहाँनेर के देखिन्छ भने महिलाहरु अलि पिछिडिएको हो की भन्ने देखिहाल्छ, हामीले टाढा जानै पर्दैन । तर म उपाध्यक्ष भएर जादाखेरी तमाम नागरिकले के देख्नुभयो भने हाम्रो समस्या उसले बोलिदिन्छ है, लेख्न नसक्ने दिदिबहिनीहरुले मेरो कुरा उसले लेखिदिन्छ, बोल्न नसक्ने दिदिबहिनीहरुले मेरो कुरा उसले बोलिदिन्छ भनेर मलाई प्रतिनिधि बनाउनुभएको हो नि त । त्यसैले मैले उहाँको मतको कदर गर्नुपर्छ । आज म उपाध्यक्ष भइरहदा उपाध्यक्ष मात्र भईन, भोली म अध्यक्षमा लड्न सक्ने भएको हेर्न चाहन्छन् । म मात्र उपाध्यक्ष भएर भएन, म जस्तो उपाध्यक्षहरु थुप्रै उपाध्यक्ष जन्मिनुपर्छ । अर्को कुरा महिलाहरु जहिले पनि परनिर्भर जस्तो, आर्थिक क्षेत्रमा कमजोर, घरमै बस्नुपर्ने बाध्यता, महिलाहरुलाई आर्थिक हिसाबले हेर्ने हो भने त्यसले कमाएको पैसा भ्यालिड जस्तो नहुने । त्यो भएकाले अहिले महिलाहरुसँग थुप्रै कामहरु गरिरहेका छौँ ।

थप्रै कामहरु भन्नाले के–के हुन् ? जस्तै ।

सामुहिक नमुना कृषि खेती गरेका छौँ । विभिन्न सीपमुलक तालिमहरु गरेका छौँ । विभिन्न क्षमाता अभिवृद्धि कार्यक्रमहरु गरिरहेका छौँ । ७५३ स्थानीय तहहरुमध्ये हाम्रो गाउँपालिकामा एउटा छुट्टै के पनि बनाको छु भने, महिला विकास तथा समन्वय समिति भनेर गाउँपालिकामा रहनुभएका जनप्रतिनिधि भन्दा फरक क्रियाशील महिलाहरुको एउटा समिति बनाएका छौँ । त्यो समितिले गाउँपालिकामा भएको सामाजिक विकास शाखा अन्तरगतको बजेट कसरी खर्च गर्ने ? कहा खर्च गर्ने ? के मा लाउने ? को– को बसेर त्यो काम गर्ने ? के– के काम गर्ने ? भन्ने कुरा चाही उहाँहरुसँग बसेर बजेटको ब्रेक डाउन गर्ने गरेका छौँ । नीति तथा कार्यक्रम कस्तो ल्याउने ? निति तथा कार्यक्रम ल्याउनु भन्दा पहिले उहाँहरुसँग बस्ने, छलफल गर्ने गरेर काम गर्ने गरेका छौँ । मलाई विश्वास छ अब आउने स्थानीय तहको चुनावमा थुप्रै महिला दिदिबहिनीहरु उपाध्यक्ष वा अध्यक्षको उम्मेदवार भएर आउनेछन् ।

यहाँ त राजस्व परामर्श समितिको पनि संयोजक हुनुहुन्छ । खास गरेर दिप्रुङ चुईचुम्मा गाउँपालिकाको हकमा आन्तरिक श्रोत के हो ? बजेटलाई  राजस्वबाट कसरी टेवा पुगाइरहनु भएको छ ?

हाम्रो गाउँपालिका नितान्त पहाडको भूगोल भित्र पनि पछाडी परेको गाउँपालिका हो । जहाँ हामीले राजश्व उठाउने ठाउँहरुपनि छैनन् । हामी निर्वाचि भएर आउँदा एउटा सनो स्कुलको कोठाभित्र कर्मचारी एका पट्टि र अध्यक्ष उपाध्यक्ष एका पट्टि बसेर काम गरेको इतिहास पनि छ । हामीले अहिले आएर बस्ने ठाउँ बनायौँ । अहिले प्रदेशबाट संघबाट अनुदानमा आएको पैसा छ, यसैबाट खर्च चलिरहेको छ । तपाइले भन्नुभएजस्तो अब सधैभरी अरुको आस गरेर मात्र हुन्न । अब त हामी आफैले पनि मजबुत हुनपर्छ, राजस्व उठाउने ठाउँहरु तय गर्नुपर्छ भन्ने तर्फ हामी लागि रहेका छौ र हामी गरिरहेका छौँ जस्तै हामीले पर्यटनको क्षेत्रमा धिप्लुङ झर्नाको विकास गरिरहेका छौँ, यस्तो विभिन्न कामहरु हामीले गरिरहेका छौँ । राजस्वको श्रोत भनेको कसैलाई सिफारिस दिनु मात्रै हैन, कतिपय ठाउँमा सिफारिस दिनुलाई राजस्व मानिन्छ तर दिप्रुङ चुईचुम्मा गाउँपालिकाको हकमा जडिबुटी निर्यात गरेर, काठ, कच्चा पदार्थलाई निर्यात गरेर पनि राजश्व उठाउन सकिन्छ ।

धिप्लुङ झर्नाको विकासको लागि के गर्नु भयो ? जनु १७५ मिटर भन्दा पनि अग्लो छ । यहाँको कार्यकालमा यो झर्ना संरक्षणको लागि के कस्ता प्रयासहरु भए ?

त्यो झर्ना आफैमा एउटा प्राकृति सौन्दर्यताको खानी हो । तथापी केही व्यवस्थित गर्नुपर्छ भनेर गाउँपालिका लागि परेको छ । हामीले त्यसको डिपीआर गरेर केही भौतिक संरचना निर्माण गरेका छौँ तथापी आन्तरिक पर्यटकहरुबाट अहिले नै राजस्व उठाउने काम थालेका छैनौँ ।

तपाई त जनताको न्यायधीश हुनुहुन्छ । कस्तो लाग्छ, जनताको इजलासमा बस्दा ? कतिको कठिन छ, जनतालाई न्याय दिनु ?

हामी जनप्रतिनिधि हौँ, प्रहरी प्रशासनले डण्ठा लगाउँछ, नागरिकले दुःख पाउँछ, नागरिकलाई जति पिडा आफुलाई भएको उसले पनि त्यति नै पिडा पाओस भन्ने चाहन्छ । तर हामी त जनप्रतिनिधि हौँ हामी त कसैलाई लाठि लाउन सक्दैनौँ । स्थानीय सरकार भनेको नागरिकको सबैभन्दा नजिकको सरकार हो जसले नागरिको भावनालाई निस्वार्थ रुपमा सहज एवम् मितव्ययी ढंगले काम गर्नुपर्दछ । त्यसकारण जनताले आफ्ना समस्याहरुलाई लिएर आउँछन् । र हामीले दुबै पक्षलाई राखेर छलफल गरेर दुबै जनाले जितेको जस्तो आभास हुने गरि पठाउने गरेका छौँ ।

निर्वाचित भएपछि गाउँमा त जानुहुन्छ होला । कस्तो पाउनुहुन्छ जनताहरुको प्रतिक्रिया ? तपाईलाई जुन आशा गरेर जिताएका थिए त्यो पुरा भयो कि भएन के भन्छन् गाउँबासीहरु ?

जब म निर्वाचनमा होमीएकी थिए, घोषणापत्र बनाएर मत माग्दै जनताहरुको घरघरमा गएकी थिए, अहिले हामीले त्यहि घोषणापत्र ओछ्याएर गाउँपालिकाको नीति तथा कार्यक्रमहरु तय गरिरहेका छौँ । घोषणा पत्रमा जे बोलिएको थियो त्यहि अनुसार काम गर्दैछु भन्ने मलाई त स्वाभाविक रुपमा लाग्छ नै, तर नागरिकहरुको मनमा के छ भन्ने त जब म भोली कुर्सी छोडेर जानेछु त्यतिबेला थाहा हुन्छ, नागरिकहरुले मलाई अहिले जस्तै कुर्सी छोड्दा पनि पत्याए भने मैलै काम गरेको देखिन्छ । अहिले मैले राम्रो गरे, सबै नागरिकको चित्त बुझाए म भन्दिनँ, भोली जब मेरो पाँच वर्षे कार्यकाल सकिएर जाँदै गर्दा नागरिकहरु जत्ति खुसी अहिले छन् त्यति खुसी त्यतिबेला पनि हुनुभएछ भने म नागरिकको प्यारो हो, मैले नागरिकको हित अनुसार काम गरेका हुन्छु, त्यै बेला मैले आफुलाई प्राउड फिल गर्ने, आफु खुसी हुने । तर म कुर्सीमा हुँदा सबैले वाह-वाह गर्ने र म कुर्सीबाहिर जाँदा सबैले गाली गर्न थालेपछि मैले काम गरे भनेर म भन्न सक्दिन । त्यसैले म अहिले परीक्षण कालमा छु, मैले परीक्षा दिइरहेकी छु । रिजल्ट त मैले कुर्सी छोडेपछि मात्रै आउँछ ।

अन्तिममा के भन्न चाहनुहुन्छ गाउँबासीहरुलाई ?

हामी अहिले परीक्षण कालमा छौँ, जुन सहयोग गरिरहनुभएको छ, त्यहि सहयोग अनुसार हामी अगाडी बढिरहेका छौँ । मैले अघि पनि भने हाम्रो रिजल्ट पाँच वर्ष पछि अर्को जनप्रतिनिधि आउँदै गर्दाखेरी आउँछ । हामीलाई जति सहयोग गरिदिनुभयो त्यसको लागि हामी आभारी छौँ ।

हामीलाई यहाँको अमुल्य समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई ।

मेरा कुराहरु राख्ने मौका दिनुभएकोमा उपहार खबर र यहाँलाई पनि धन्यवाद दिन चाहन्छु ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्