इरानमा इब्राहिम रइसी राष्ट्रपतिमा छानिएपछि इजराइलको चिन्ता बढ्यो, लगाइए यस्ता आरोप

इजराइलले इरानका नयाँ राष्ट्रपतिमा इब्राहिम रइसी चुनिएकोमा अन्तरराष्ट्रिय समुदायले गहिरो चिन्ता व्यक्त गर्नुपर्ने बताएको छ । इजराइलका विदेश मन्त्रालयका प्रवक्ता लियोर हाइयातले रइसी हालसम्म इरानका सबैभन्दा कट्टरपन्थी राष्ट्रपति भएको बताएको छ । नयाँ नेताले इरानको परमाणु गतिविधिलाई बढाउने भन्दै उनले चेतावनी दिए । इब्राहिम रइसीलाई शनिबार इरानको राष्ट्रपति चुनावमा बिजेता घोषित गरिएको छ । थुप्रैले चुनावमा इब्राहिमले नै बहुमत हासिल गरुन् भन्ने तरिकाले इरानी चुनावलाई डिजाइन गरिएको आरोप लगाइरहेका छन् ।

रइसी अगस्टमा इरानको राष्ट्रपति पद सम्हाल्नेछन् । उनी इरानका शीर्ष न्यायाधिस हुन् र अति रुढिवादी विचारका हुन् । उनी राजनीतिक कैदीलाई मृत्युदण्डको सजाय दिनेसँग सम्बन्धित छन् र उनीमाथि अमेरिकी प्रतिबन्ध लागू छ । इरानको सरकारी मिडियामा प्रासारित एक बयानमा रईसीले भनेका छन्, ‘म एक इमानदार, मिहिनेती, क्रान्तिकारी र भ्रष्टाचार विरोधी सरकार बनाउनेछु ।’ यस्तै, ट्वीटरमा आलोचनात्मक टिप्पणीमा लियोर हाइयातले उनलाई एक कट्टरपन्थी व्यक्तिको संज्ञा दिएका छन् । उनका अनुसार उनी इरानको सैन्य परमाणु कार्यक्रमलाई तीब्र रुपमा अघि बढाउन प्रतिबद्ध छन् । इरान र इजराइलबीच लामो समयदेखि छद्म युद्ध चलिरहेको छ । यसमा दुबै देशले एक अर्काविरुद्ध जवाफी कारवाही गरेका छन् तर हालसम्म दुबै देश पूर्णकालीन युद्धबाट बच्दै आएका छन् । यद्यपि, हालैका महिनामा दुई देशबीचको तनाव अत्यधिक बढेको छ ।

दुबै देशबीच परिस्थिति निकै जटिल छ तर तनावको एउटा ठूलो कारण इरानको परमाणु कार्यक्रम पनि हो । इरानले अघिल्लो वर्ष भएको आफ्नो शीर्ष परमाणु वैज्ञानिकको हत्या र यसवर्ष अप्रिलमा परमाणु संयंत्रमा भएको दुर्घटनाका लागि इजराइललाई जिम्मेवार मानेको छ । यस्तै इजराइलले इरानको परमाणु कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण उद्देश्यका लागि नभएको बताएको छ । इजराइलले इरानको परमाणु कार्यक्रमको उद्देश्य परमाणु हतियार बनाउनु भएको मान्यता राख्छ । इरान र पश्चिमी देशबीच सन् २०१५ मा एक परमाणु सम्झौता भएको थियो, त्यसपश्चात् इरानमाथि लागेको कडा प्रतिबन्ध हटाइएको थियो । यद्यपि, पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई यो सम्झौताबाट बाहिर निकाल्दै इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाइदिएका थिए । नयाँ राष्ट्रपति जो बाइडेन भने सरकारलाई पुनः सम्झौतामा समावेश गर्ने बाटो खोजिरहेका छन् ।

प्रतिबन्ध कडा पारिएपछि इरानले पनि आफ्नो परमाणु कार्यक्रमलाई तीब्रता दिएको छ । इरान यतिबेला आफ्नो अहिलेसम्मको सर्वोच्च स्तरमा युरेनियम सम्बद्र्धन गरिरहेको छ । यद्यपि, इरान अहिले पनि परमाणु बम बनाउने क्षमता हासिल गर्न सकेको छैन । इरानको चुनावमा प्रतिक्रिया दिँदै अमेरिकाले इरानी जनतालाई अहिले पनि लोकतान्त्रिक र निष्पक्ष तरिकाले आफ्नो नेता छान्न नदिएकोमा आफूलाई अफसोस भएको बताएको छ ।

इरानको चुनावमा यसपटक मतदान प्रतिशत निकै कम छ । कूल पंजीकृत मतदातामध्ये ५० प्रतिशतभन्दा पनि कमले आफ्नो मताधिकार प्रयोग गरेका छन् । यसअघि सन् २०१७ को चुनावमा ७० प्रतिशतभन्दा बढी मतदान भएको थियो । धेरैजसोले चुनाव बहिष्कार गरे किनभने उनीहरुका अनुसार चुनाव प्रक्रियालाई रइसीलाई फाइदा पुर्याउने किसिमले बनाइएको छ । रइसी इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनईका निकै नजिकका मानिन्छन् । रइसी जुन दिन इरानका राष्ट्रपति बने वियनामा इरानको परमाणु सम्झौतालाई बचाउनका लागि कुराकानी जारी थियो । युरोपेली संघका अनुसार आइतबार इरान र संसारका ६ शक्तिशाली देशका प्रतिनिधिबीच इरानको परमाणु कार्यक्रमको विषयमा पुनः कुराकानी हुनेछ । यो इरान र अमेरिका बीच यो मुद्दामाथि छैटौं वार्ता हो । समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार वार्तामा समावेश नेताका अनुसार केही मुद्दामा गतिरोध यथावत् छ ।

बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्