कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा कैलालीको स्थिति भयाभव बन्दै

कैलाली – कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ ।

यस्तै कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको मृत्यु भएको छ भने बझाङका एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । सुदूरपश्चिममा दैनिक कोरोना सङ्क्रमित सयौँ थपिन थालेका छन् ।

सुदूरपश्चिममा शनिबार थप २४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११३ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका अन्य पालिकाका ९१ र अन्य जिल्लाका ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ७१५ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण १०० जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताइएको छ । तीमध्ये सेती अस्पतालमा ५९ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये तीन जना भेन्टिलेटरमा, १७ आइसीयूमा र ३४ अक्सिजन सपोर्टमा उपचाररत छन् । यता टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित र लक्षण देखिएका नौ जनाको उपचार भइरहेको छ ।

उपचाररत रहेका पाँच कोरोना सङ्क्रमित र चार परीक्षणको नतिजा आउन बाँकी रहेकाहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचार भइरहेकामध्ये छ जनामा अक्सिजनको कमी भई अवस्था गम्भीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टीकापुर अस्पतालमा दैनिक १० देखि २० जनासम्म कोभिड लक्षण भएकाहरु उपचारमा आउने गरेका डा रमेश उपाध्यायले जानकारी दिए ।

“लक्षण देखिएका तर जटिल समस्या नभएकालाई होम आइसोलेशनमा बस्न भनेका छौँ, जटिल समस्या भएका, श्वासप्रश्वासमा समस्या भई अक्सिजन कमी भएकालाई यहाँ अक्सिजन दिई उपचार गरिरहेका छौँ”, डा उपाध्यायले भने, “कोरोना लक्षण देखिएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न सम्भव छैन ।”

टीकापुर अस्पतालमा जनशक्ति अभाव भएकाले अस्पतालले कर्मचारी भर्नाका लागि सूचनासमेत गरेको छ । अस्पतालले दुई चिकित्सक, १५ स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अनमी र अहेवका लागि दरखास्त खोलेको छ ।

बालबालिका जोखिममा

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । समुदायस्तरमै कोरोना फैलिँदै जाँदा बालबालिकलाई सङ्क्रमणबाट जोगाउन टीकापुर अस्पतालका बालरोग विशेषज्ञ अमरनाथ ठाकुरले बताए । “यो समय भाइरल ज्वरो, रुघाखोकीको समय पनि हो । बालबालिकामा सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन”, डा ठाकुरले भने, “बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो, निमोनियाका लक्षण देखिएमा अस्पताल लैजानुपर्छ । सामान्य रुघाखोकी, ज्वरो भए दुई÷तीन दिनमा आराम हुन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्