लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले अकस्मात राजीनामा दिनुको कारण यस्तो छ !

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री पोखरेलले अकस्मात राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले एकल बहुमतीय सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै अविश्वासको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ ।

लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ हो । यसमध्ये जसपाका ४ र माओवादी केन्द्रका २ सांसद निलम्बित छन् । हाल कायम रहेको सदस्य संख्या ८१ मध्ये एमालेका मात्रै ४१ सांसद छन् जुन बहुमत संख्या हो ।
अहिलेकै अवस्थामा अविश्वासको प्रस्तावको सामना गरेको भएपनि मुख्यमन्त्री पोखरेलको पक्षमा ८१ मध्ये ४१ मत सुरक्षित थियो । तर पोखरेलले गत साता मात्रै मन्त्री बनेका जसका ४ मन्त्रीलाई पाखा लगाएर अब एकल सरकार बनाउने बाटो खुलेको छ ।

यसअघि गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव सामना गर्ने क्रममा एमालेले फोहोरी खेल खेलेको आरोप लाग्दै आएको छ । तर लुम्बिनी प्रदेशमा भने मुख्यमन्त्री पोखरेलले विवादमा नपरिकन सत्ता जोगाउने नयाँ ‘आइडिया’ निकालेको विश्लेषण हुन थालेको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले उनले दिएको राजीनामा स्वीकृत गरिसकेका छन् भने अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्