सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै, श्रीकृष्णले पुतना मारेको विजय उत्सवका रुपमा मनाइने गरेको जनविश्वास

काठमाडौं – हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै ग्रेटर नेपालको कुमाउ, गढवाल क्षेत्र [भारतको उत्तराखण्ड] मा पनि मनाउने गरिन्छ ।

विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन रहेको छ । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्री कृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको गरिएको विश्वास गरिन्छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन्। गाई गोठालाहरुले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रुखहरुबाट निर्मित बुढीको पुतनालाई साँझपख जलाउने गरिन्छ। दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ। यसो गरेमा पशु चौपायमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ।

ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलि अग्लो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिन्छ। यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बुढी थुई भन्ने गर्छन्। त्यस्तै बुढी पोलेर घर फकिर्ने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ। यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्