मेलम्ची खानेपानी आयोजना : दोस्रो चरणको निर्माण को लागि तयारी

File Photo

सुशील सुवेदी, सिन्धुपाल्चोक

मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । दोस्रो चरणको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने भएको छ । उक्त अध्ययनका लागि सम्बन्धित पालिकाहरुले सहमति दिने भएका छन् । मेलम्चीको दोस्रो चरण याङग्री र लार्केमा परामर्शदाताले यस अघि नै अध्ययन सकेर मेलम्ची खानेपानी विकास समितिलाई प्रतिवेदन बुझाइसकेको छ ।

त्यसपछि आयोजना निर्माणस्थलको वातारणीय प्रभावसम्बन्धी अध्ययन गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारिदिनु भयो । दोस्रो चरणको डिजाइन गर्ने परामर्शदाताले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । यसमा विज्ञसँग एक पटक छलफल भइएको पनि सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।

सडक निर्माण विभागले गर्ने र अरु कतिपय पूर्वाधार सम्बन्धित कार्यालयले तथा कतिपय समितिले नै गरिरहेको छ । त्योअनुसार त्यहाँका पालिका सकारात्मक रहेकाले सहमति पत्र दिन उचित हुने उनको भनाइ रहेको छ । दोस्रो चरणको निर्माणका लागि अहिलेसम्म डिजाइन फाइनल भएको र त्यसको लागत पनि यकिन भइसकेको छ । मेलम्चीको पहिलो चरण मा जस्तै दोस्रो चरणमा पनि सहयोग गर्ने एशियाली विकास बैङ्कले प्रतिबद्धता जनाएको छ ।

पहिलो चरणको पानी काठमाडौँ आएपछि ऋण अनुदान गर्ने भनी सहमति भएको थियो । समितिले सुरुङमा भेटिएका त्रुटि सच्चाएर मेलम्ची खोलाको पानी ल्याउने तयारी गरेको छ । पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याइएपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी राजधानी ल्याउने समितिको लक्ष्य रहेको छ ।

आयोजना यसअघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । गत वर्ष असोजमा यो कम्पनीसँग सहमति भएको थियो । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँले काम गर्दै आएको छ ।

सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्