चीनमा प्लेग भेटियो, अर्को महामारी बन्ने खतरा

चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन् ।

सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्थिति स्थिर छ । उनी गोठाला भएको बताइएको छ । अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन् ।

ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ । तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ । बायान्नुरस्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार प्लेग भएको आशङ्का गरिएको थियो ।

तर उनलाई कसरी सङ्क्रमण भयो भन्ने स्पष्ट छैन । तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ । सङ्क्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

विश्वमा बेलाबेलामा प्लेग देखा परिरहन्छ । सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो । गत वर्ष मे महिनामा चीनको छिमेकी देश मङ्गोलियामा दुई जनाको प्लेगका कारण मृत्यु भयो। मार्मट नामक जङ्गली जीवको काँचो मासु खाएपछि उनीहरूलाई प्लेग भएको थियो । स्रोत : बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्