शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले ४० लाख रुपैयाँ रकम कोरोना नियन्त्रण कोषमा हाल्ने

दोलखाको शैलुङ गाउँपालिकाका सबै जनप्रतिनिधिले सरकारी सुविधा वापतको ४० लाख रुपैयाँ रकम कोरोना नियन्त्रण तथा रोकथाम कोषमा हाल्ने निर्णय गरेका छन् ।
बुधबार सम्पन्न सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य गरी ४२ जना जनप्रतिनिधिले आफुले पाउने आठ महिनाको तलब, भत्ता, सेवा सुविधा सबै गाउँपालिकाको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा हाल्ने निर्णय गरेको अध्यक्ष भरत दुलालले बताए ।

गाउँपालिका कार्यालयका अनुसार २०७६ चैत मसान्त सम्म गरेर सबै जनप्रतिनिधिको लिन बाँकी सुविधा आठ महिनाको थियो । निर्वाचित भएर आएको वर्ष २०७४ जेठ र असार महिनाको तलब सुरुकै समय भएका कारण कसैले लिएका थिएनन् । यस्तै २०७६ कार्तिक देखी चैत सम्मको तलब समेत जनप्रतिनिधिले बुझ्न पाएका थिएनन् ।
गाउँपालिकाले स्थापना गरेको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा जनप्रतिनिधिको सेवा सुविधा वापत आठ महिनाको सबै रकम हाल्ने निर्णय भएलगतै ४० लाख रुपैयाँ जम्मा हुने भएको छ । यसैगरी गाउँपालिकाको श्रोतबाट २० लाख गरेर आउदो आर्थिक वर्षका निम्ती ६० लाखको कोरोना नियन्त्रण कोष बन्ने भएको छ ।
गाउँपालिकाले स्थापना गरेको कोषको रकम संक्रमित, तिनिहरूको परिवार, संक्रमणको जोखिम साथै अफ्ठेरोमा परेका नागरिकहरूलाई प्राथमिकतामा राखेर कोरोना नियन्त्रण तथा रोकथामका निम्ती खर्च गरिनेछ । यस्तै गाउँमा पिसिआर परीक्षण गराउनका लागी ल्याईने स्वास्थ्यकर्मीको भत्ता, उनीहरूलाई गाउँ ल्याउन लाग्ने यातायात सहितका बिभिन्न खर्च, स्वास्थ्य सामग्री खरिदलगायतका खर्च उक्त कोषबाट गरिने गाउँपालिकाको योजना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्