न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शुन्यमा झर्‍यो

काठमाडौं – न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो ।

न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले एक विज्ञप्ति जारी गर्दै यो न्युजिल्याण्डको लागि निकै खुसीको खबर रहेको बताएका छन् । न्युजिल्याण्डमा मे २२ यता अहिलेसम्म कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।

न्युजिल्याण्डमा एक हजार ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो । न्युजिल्याण्डले मुलुकमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो । पाँच सातासम्म न्युजिल्याण्डमा लकडाउन कडाइको साथमा पालना गराइएको थियो । त्यसपछि बिस्तारै खुकुलो बनाइएको थियो ।

अन्ततः अप्रिलको अन्तिममा न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण लगभग शून्यमा झरेको थियो । यससँगै न्युजिल्याण्डले प्रतिबन्ध हटाएको थियो । न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए पनि प्रधानमन्त्री ज्यासिन्डा अर्डनले अहिले नै तत्काल सीमानाका भने नखोलिने बताएकी छिन् । यद्यपि बाँकी सबै प्रतिबन्ध पनि खुला गरिएको छ ।

स्रोतः बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्