सिन्धुपाल्चोकमा मेसिनबाट पहिलो पटक मकै रोपियो

सुशील सुवेदी
सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकामा पहिलोपटक मेसिनबाट मकै रोपिएको छ । इन्द्रावती(१० को ठूलीटारमा जिल्लामै पहिलो पटक ‘सिड कम फर्टिलाईजर ड्रिल’ प्रविधि मार्फत मकै रोपिएको हो । ठूलीटारका सामुहिक खेतीका लागि सुरुमा किसानको जग्गालाई ठूलो ट्याक्टरले सम्याइएको थियो । सो ठाउँमा आज मेसिनको प्रयोग गरेर मकै रोपिएको हो । मेसिनले मकै र मल एकैचोटि सामान दुरीमा हाल्ने गर्दछ । जसको कारण समय र मजदुरको समेत आर्थिकभार किसानलाई कम पर्दछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको समन्वयमा ठूलीटारमा सो प्रविधिमार्फत सामूहिक मकै खेती सुरु गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

ठूलीटारमा तीन सय रोपनीमा मकैखेती गर्ने गाउँपालिकाको योजना भएतापनि १ सय ५० रोपनीमा मात्रै मकैबाली लगाइएको गाउँपालिकाका कृषि प्रमुख नवराज उपाध्यायले जानकारी दिए । मुल बिउँ अभावका कारण भनेजति ठाउँमा मकैैबाली लगाउन नसकिएको उनले बताए । सामुहिक मकै खेतीबाट मकैको मूल बिउँ उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य छ ।

गाउँपालिकाले १ सय ५० रोपनीमा लगाइएको मकैबालीबाट १५ सय टन मकैको बिउँ उत्पादन गर्ने लक्ष्य राखेको कृषि प्रमुख उपाध्यायले बताए । उक्त उत्पादित बिउँ गाउँपालिका तथा मकै जोन कार्यक्रमले किनेर किसानलाई उक्त बिउँ बराबरको पैसा दिनेछ । यो सामुहिक खेतीका लागि प्रदेशबाट समेत ठूलीटारमा बजेट परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्