अमेरिका चीन तनाव बढ्दोः अमेरिकाले चिनियाँ एयरलाइन्सको उडान रोक्ने

एजेन्सी – अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ । अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरुलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति नदिएको जवाफमा यो निर्णय लिइएको हो ।

चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा रहेको छ भने अमेरिका यतिबेला विश्वमै सबैभन्दा प्रभावित राष्ट्रको रुपमा रहेको छ । यो बेला दुई देशबीच कोरोनाभाइरस र हङकङको मुद्दामा तनाव बढिरहेको छ । अमेरिकाले हवाई यात्राको मुद्दामा चीनसँग छलफल जारी रहने जनाएको छ । यातायात विभागको आदेश चीनका चार एयरलाइन्समाथि लागू हुनेछ – एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हेनान एयरलाइन्स र चाइना सदर्न एयरलाइन्स ।

यी एयरलाइन्सले महामारीको दौरान पनि अमेरिकाबाट उडान सञ्चालन गरिरहेको थियो । यद्यपि, यिनीहरुको क्षमता भने घटाइएको थियो ।

यतायात विभागको फैसला लागू हुनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमति आवश्यक हुन्छ । ट्रम्पले हालका दिनमा चीनप्रति आक्रामक रवैया अपनाएका छन्, विशेष गरेर महामारी र हङकङको मुद्दामा । अमेरिकाको यो निर्णयबारे चीनमा रहेको अमेरिकी दूतावासबाट कुनै टिप्पणी आएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्