केराखेतीमा हावाहुरीको कहरः चैतयता १० करोडको क्षति

भरतपुर – कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् ।
पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका किसान विष्णुहरि पन्त हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको बताउँछन् । पछिल्लोपटक चितवनमा जेठ दोस्रो साता आएको हावाहुरीले क्षति बढी गरेको बताइन्छ । “चैतयता लगातार हावाहुरी, असिना पानी आइरहेको छ यसको प्रत्यक्ष असर केरा खेतीमा परेको छ,” उनले भने ।

शिखर इन्स्योरेन्स प्रालि नारायणगढ शाखाका प्रमुख चन्द्रमणि शर्मा चैतदेखि अहिलेसम्म हावाहुरी र असिना पानीले केरामा १० करोड रुपियाँभन्दा बढीको क्षति भएको भन्दै दाबी परेको बताउँछन् । “झन्डै पाँच सय किसानले अहिले १० करोड रुपियाँभन्दा बढी मूल्य बराबरको केरा नोक्सान भयो भनेर दाबी गर्नुभएको छ,” उनले भने । किसान तहमा सय कोसा भएको एक घरी केराको औसत पाँच सय रुपियाँ मूल्य पर्छ । यसलाई आधार बनाउने हो भने बीमामा दाबी भएको १० करोड रुपियाँ बराबरको केरा भनेको दुई हजार घरी अर्थात् दुई हजार बोट हो ।
व्यावसायिक केरा खेती गर्ने किसानको संस्था चितवन केरा व्यवसायी सङ्घका अध्यक्ष घननाथ महतो व्यावसायिक रूपमा बिस्तारै फड्को मार्दै गरेको केरा खेतीमा प्राकृतिक विपत्तिको मार खेप्नु परेको गुनासो गर्छन् । “केरामा हामी बिस्तारै आत्मनिर्भर हुँदै छौँ तर कहिले प्रकृतिको मार कहिले कोरोनाको मारले हामी उठ्नै नसक्ने गरी घाटा खाँदै छौँ,” उनले भने । अहिले विशेष त हावाहुरीवाट रत्ननगर र कालिका नगरपालिकाका किसान बढी प्रभावित भएका छन् । चितवनमा भरतपुर महानगरमा पनि व्यावसायिक केरा खेती हुन्छ ।

बीमाबाट लागतमा केही रकम पाए पनि बजारमा बिक्रीबाट हुने आम्दानीभन्दा धेरै कम हुने अध्यक्ष महतोको भनाइ छ । बीमाका प्रमुख शर्मा भने अहिले बन्दाबन्दीका कारण केरा बजार पु¥याउन नसक्दा पनि बोटमै केरा धेरै रहेकाले हावाहुरीले बढी क्षति गरेको बताउँछन् । गोरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्