दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाले आगामी कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव’ आयोजना गर्ने भएको छ। पर्यटन प्रवर्द्धनसँगै स्थानीय बासिन्दाका लागि रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएका उद्देश्य पूरा गर्ने गरी उत्सव सञ्चालन गर्न लागिएको हो। उत्सव अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल आधार शिविरको पिलकन्दमा आयोजना हुनेछ। उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिने जनाइएको छ।
एकीकृत पर्यटन उत्सवका रूपमा आयोजना गर्न लागिएकाले गाउँपालिकाका सबै क्षेत्रले यसको लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ। उत्सवले अपिहिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली पर्यटन, स्थानीय संस्कृति तथा पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।
नेपाल सरकार र अपिहिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन हुँदै आएका छन्। अपिहिमाल आधार शिविरमा पर्यटकको आकर्षण बढाउन र पर्यटकीय गतिविधि विस्तार गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम अघि बढाउँदै आएको छ।
उत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा गाउँपालिका उपाध्यक्ष, सबै वडाका वडाध्यक्षलगायत सदस्य रहनेछन् भने प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ।




