काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई आजैदेखि लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको हो।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले उनलाई गत असोज १९ गते पदबाट निलम्बन गरेको थियो। सशस्त्र प्रहरीले पदीय आचरणविपरीत काम गरेको भन्दै विभागीय कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको थियो।
निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरण उल्लङ्घन गरेको आरोपमा दाहालमाथि विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जनाएको छ। घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको थियो।
गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, गोप्य तथा संवेदनशील सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने कार्यमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको जनाएको छ।




