यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

काठमाडौँ – सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता र एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेलगायतका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्र (नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड) का लागि कार्यादेश सम्झौता (म्यान्डेट एग्रिमेन्ट) मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ। यस निर्णयले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिको जग्गा दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन बाटो खोल्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बढुवापछि उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्