प्राइम कमर्सियल बैंकको १९औँ वार्षिकोत्सवमा ५२२ जनाले गरे रक्तदान

काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशभर सात स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २०८३ असोज ७ गते वार्षिकोत्सवको अवसर पारेर काठमाडौँको कमलपोखरीस्थित केन्द्रीय कार्यालयसहित विभिन्न प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बैंकका अनुसार केन्द्रीय कार्यालय कमलपोखरी, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशअन्तर्गत छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कैलालीमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । देशका सात स्थानमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकको सहभागिता रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी ५२२ जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बैंकले मानव जीवन रक्षाका लागि आवश्यक रगत संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदानमा कर्मचारी तथा शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले रक्तदाताहरू तथा रक्तदान कार्यक्रम सञ्चालनमा संलग्न प्राविधिकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । मानव जीवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममार्फत बैंकले आफ्नो नियमित व्यावसायिक गतिविधिसँगै सामाजिक सेवामा समेत सहभागिता जनाउँदै आएको सन्देश दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्