काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा विद्यालयका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ बराबरको राहत सहयोग जुटाएको जनाएको छ । प्याब्सनले बिहीबार काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत बाढीपीडितका लागि संकलन तथा राहत प्रयोजनका लागि छुट्याइएको रकमको विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार तथा पूर्वअध्यक्ष डीके ढुंगाना, केन्द्रीय महासचिव आरबी कटवालसहित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरूको उपस्थिति थियो । महासचिव आरबी कटवालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा प्याब्सनले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा शिक्षाको निरन्तरताका लागि संस्थागत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
प्याब्सनले २०८३ भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको प्याब्सनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, बाढीका कारण बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।
प्याब्सनका अनुसार शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले २०८३ भाद्र ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम संकलन अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमार्फत संकलित रकम तथा राहत प्रयोजनका लागि छुट्याइएको रकमलाई विभिन्न शीर्षकमा व्यवस्थापन गरिएको प्याब्सनले जनाएको छ ।
प्याब्सनले सार्वजनिक गरेको विवरणअनुसार भाद्र २६ गते तत्कालीन अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो । त्यस्तै, असोज ७ गते शिक्षा मन्त्री सस्मिता पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ हस्तान्तरण गरिएको प्याब्सनले जनाएको छ । यी दुई शीर्षकमा मात्र १५ करोड ३९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत कोषमा हस्तान्तरण भएको केन्द्रीय महासचिव आरबी कटवालले जानकारी दिनुभयो ।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा पूर्ण क्षति भएका तीन तथा आंशिक क्षति भएका दुई विद्यालयका लागि २ करोड रुपैयाँ छुट्याइएको प्याब्सनले जनाएको छ । बाढीबाट प्रभावित विद्यालयहरूको भौतिक संरचना, शैक्षिक सामग्री तथा पठनपाठनको वातावरण पुनःस्थापना गर्न उक्त रकम प्रयोग गरिने प्याब्सनको विवरणमा उल्लेख छ । यसले बाढीका कारण विद्यालयको नियमित शैक्षिक गतिविधिमा परेको असरलाई सम्बोधन गर्न सहयोग पुग्ने प्याब्सनको अपेक्षा छ ।
प्याब्सनका सदस्य विद्यालयहरूले समेत आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३ करोड ५० लाख रुपैयाँ जम्मा गरेको जनाइएको छ । सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट संकलित तथा राहतका लागि छुट्याइएको रकमसमेत जोड्दा प्याब्सनको राहत अभियानअन्तर्गत कुल २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ बराबरको सहयोग व्यवस्थापन भएको हो ।
प्याब्सनले शिक्षा क्षेत्रको विकाससँगै राष्ट्रिय विपत्ति तथा संकटका समयमा राज्य र नागरिकसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पठनपाठनबाट वञ्चित बालबालिकाको शिक्षाको निरन्तरताका लागि आगामी दिनमा पनि आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसादअधिकारीले प्रतिबद्धता व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा प्याब्सनले राहत अभियानमा स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गरेको छ । बाढीपछि राहत तथा पुनःस्थापनाका लागि सञ्चालन गरिएको अभियानमा विद्यालय परिवारको सहभागिताले संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको प्याब्सनको भनाइ छ ।
त्यस्तै, विपद्को कठिन अवस्थामा सूचना तथा समाचार सम्प्रेषणमार्फत जनचेतना अभिवृद्धि गर्न तथा राहत अभियानलाई सहयोग पुर्याउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई पनि प्याब्सनले विशेष धन्यवाद दिएको छ । पत्रकार सम्मेलनमार्फत प्याब्सनले राहत सहयोगको विवरण सार्वजनिक गर्दै आगामी दिनमा पनि बाढी प्रभावित नागरिक तथा विद्यार्थीको आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।



