ब्ल्याक होलको रहस्य खोज्न विश्वभरका वैज्ञानिक काठमाडौंमा, डा. गोपाल भट्ट पनि आयोजक समितिमा

काठमाडौं – ब्रह्माण्डका सबैभन्दा रहस्यमय खगोलीय पिण्डमध्ये एक ‘ब्ल्याक होल’ सम्बन्धी पछिल्ला वैज्ञानिक अनुसन्धान, खोज तथा बहसमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ। ‘८औँ ब्ल्याक होल नेपाल बैठक : Many Faces of Stellar-Mass Black Holes’ आगामी अक्टोबर १२ देखि १६, २०२६ सम्म काठमाडौंको ठमेलस्थित Aloft Kathmandu Thamel मा आयोजना हुने भएको हो। सम्मेलनमा विश्वका विभिन्न देशका खगोलविद्, खगोलभौतिकशास्त्री, अनुसन्धानकर्ता तथा विद्यावारिधि शोधकर्ताहरू सहभागी हुनेछन्।

सम्मेलनमा स्टेलर–मास ब्ल्याक होलको निर्माण, विकास तथा अवलोकनात्मक विशेषताबारे भएका पछिल्ला वैज्ञानिक प्रगतिमाथि छलफल हुनेछ। ब्ल्याक होल मर्जर, स्पिन मापन तथा स्पिनसम्बन्धी विवाद, एक्स–रे पोलराइजेसन, ब्ल्याक होल बाइनरीबाट निस्कने जेट, एक्स्टेन्डेड टीभी उत्सर्जन, कोल्याप्सार तथा ब्ल्याक होल भएका अल्ट्रालुमिनस स्रोतलगायत विषयमा अनुसन्धानकर्ताहरूले आफ्ना निष्कर्ष प्रस्तुत गर्नेछन्।

डा. गोपाल भट्ट पनि स्थानीय आयोजक समितिमा

सम्मेलनमा नेपाली मूलका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त एस्ट्रोफिजिसिस्ट डा. गोपाल भट्टको पनि महत्वपूर्ण सहभागिता रहनेछ। पोल्यान्डस्थित University of Zielona Góra का एस्ट्रोफिजिक्स प्राध्यापक डा. भट्ट उच्च–ऊर्जा खगोलभौतिकी, सक्रिय ग्यालेक्टिक न्युक्लिआई (AGN), रिलेटिभिस्टिक जेट, गामा–रे बर्स्ट तथा अल्ट्रा–हाई–एनर्जी कणसम्बन्धी अनुसन्धानमा सक्रिय छन्। सम्मेलनको आधिकारिक वेबसाइटमा डा. भट्टलाई स्थानीय आयोजक समिति (Local Organizing Committee) का सदस्यका रूपमा राखिएको छ। समितिमा नेपाल, पोल्यान्ड र फिनल्यान्डलगायतका संस्थासँग आबद्ध वैज्ञानिकहरू सहभागी छन्।

डा. भट्टको अनुसन्धान क्षेत्र ब्ल्याक होलसँग सम्बन्धित उच्च–ऊर्जा खगोलीय घटनासँग प्रत्यक्ष जोडिएको छ। उनले रेडियोदेखि गामा–रेसम्मको विद्युत्चुम्बकीय स्पेक्ट्रममा हुने खगोलीय घटनाको अध्ययन गर्दै आएका छन्। उनको वैज्ञानिक प्रोफाइलअनुसार दुई दशकभन्दा बढी अनुसन्धान अनुभव र १५० भन्दा बढी वैज्ञानिक प्रकाशन छन्। सम्मेलनको मुख्य उद्देश्य ब्ल्याक होलसम्बन्धी सैद्धान्तिक अनुसन्धानकर्ता र विभिन्न टेलिस्कोप तथा अन्तरिक्षमा आधारित उपकरणबाट प्राप्त तथ्यांकको विश्लेषण गर्ने अवलोकनकर्ताबीच वैज्ञानिक संवादलाई अघि बढाउनु रहेको आयोजकले जनाएको छ।

विश्वका विभिन्न वैज्ञानिक संस्थाबाट काठमाडौं आउने अनुसन्धानकर्ताले ब्ल्याक होलको उत्पत्ति, विकास, विलय, स्पिन, एक्स–रे तथा गामा–रे विकिरण र त्यसबाट उत्पन्न हुने जेटलगायत विषयमा आफ्ना नवीनतम अनुसन्धान प्रस्तुत गर्नेछन्। यसअघि काठमाडौंमा सन् २००२, २००६, २००८, २०१०, २०१३, २०१६ र २०२२ मा ब्ल्याक होलसम्बन्धी यस शृंखलाका सम्मेलन आयोजना भइसकेका छन्। यसपटकको सम्मेलन उक्त शृंखलाको आठौँ संस्करण हो।

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका माध्यमबाट नेपालमा विश्वस्तरका खगोलविद् तथा एस्ट्रोफिजिक्स अनुसन्धानकर्तालाई एकै ठाउँमा ल्याउनुका साथै नेपाली विद्यार्थी तथा युवा अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने आयोजकहरूको अपेक्षा छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्