सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं – सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसअन्तर्गत पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी १ लाख ७१ हजार कित्ता शेयर कर्मचारी र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । अब बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाइएको छ । सानिगाड हाइड्रोले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको उक्त आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको उल्लेख गरिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत ‘सी-आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्