पश्चिम बङ्गालमा भाजपा बहुमतमा, मुख्यमन्त्री ममता बेनर्जीद्वारा राजीनामा दिन अस्वीकार

कोलकाता – भारतको पश्चिम बङ्गाल विधानसभा चुनावमा पराजयपछि ममता बेनर्जीले राजीनामा दिन अस्वीकार गर्नुभएको छ। उहाँले चुनावमा धाँधली भएको आरोप लगाउँदै परिणाम स्वीकार नगर्ने बताउनुभएको हो। २९४ सदस्यीय विधानसभामा भारतीय जनता पार्टी (भाजपा) ले २०७ सिट जित्दै दुई तिहाइभन्दा बढी बहुमत हासिल गरेको छ। सन् २०११ देखि निरन्तर सत्तामा रहेको अखिल भारतीय तृणमूल कांग्रेस भने ८० सिटमा सीमित भएको छ।

मुख्यमन्त्री बेनर्जी आफ्नै निर्वाचन क्षेत्र भवानीपुरबाट शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको छ। परिणाम सार्वजनिक भएपछि उहाँले करिब १०० सिट ‘अनियमित रूपमा खोसिएको’ आरोप लगाउँदै निर्वाचन आयोगमाथि पक्षपात गरेको दाबी गर्नुभएको छ। तर निर्वाचन अधिकारीहरूले उक्त आरोपलाई निराधार बताएका छन्।

भारतीय संविधानअनुसार अब राज्यपालले मुख्यमन्त्रीसँग राजीनामा माग गर्न वा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सक्नेछन्। यस ऐतिहासिक जितलाई नरेन्द्र मोदीले पूर्वी भारतमा महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा व्याख्या गर्नुभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्