इस्लामावाद- डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि अमेरिकी टोली सोमबार बेलुकी इस्लामावाद पुग्ने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै प्रतिनिधिमण्डल वार्ताका लागि पठाइएको र सोमबार साँझसम्म इस्लामावाद पुग्ने बताएका हुन् । उनले यसपटक इरानलाई ‘उचित र निष्पक्ष प्रस्ताव’ दिने दाबी गर्दै त्यसलाई स्वीकार नगरे कठोर कदम चालिने चेतावनी समेत दिएका छन् ।
ट्रम्पले हर्मुज जलडमरूमध्य क्षेत्रमा इरानले जहाजमा आक्रमण गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानको गतिविधिको आलोचना गरेका छन् । साथै हर्मुज बन्द गर्ने इरानको घोषणालाई ‘हास्यास्पद’ टिप्पणी गरेका छन् ।
एसोसिएटेड प्रेसका अनुसार यसअघि पहिलो चरणको वार्तामा सहभागी टोली नै पुनः इस्लामावाद पठाउने तयारी गरिएको छ । यद्यपि इरान र पाकिस्तानले भने वार्ताबारे औपचारिक पुष्टि गरेका छैनन् । ट्रम्पको घोषणापछि शहबाज शरिफले इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग टेलिफोन संवाद गरेका छन् भने पाकिस्तानी परराष्ट्रमन्त्री इशाक डारले इरानी विदेशमन्त्री अब्बास अराग्चीसँग छलफल गरेका छन् ।
हालसम्म इरानी पक्षबाट वार्तामा सहभागिताबारे स्पष्ट प्रतिबद्धता सार्वजनिक भएको छैन ।






