काठमाडौँ – नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। लगातार दुई कारोबार दिन घटेको बजार आज ३३ दशमलव २७ अङ्कले उकालो लाग्दै २ हजार ८६६ दशमलव ८७ विन्दुमा पुगेको हो। आज सबै समूहको सूचक बढेको छ। विशेषगरी होटल तथा पर्यटन समूहको सूचक ३ प्रतिशतभन्दा बढीले बढ्दा जलविद्युत् र व्यापार समूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ।
बजारमा आज २२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ वटाको घटेको छ। तीन वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। आज रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, सुपर खुदी हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको शेयर १० प्रतिशतले बढेको छ। बजार बढेको दिन रिलायन्स स्पिनिङ मिल्सको शेयर भने सबैभन्दा धेरै झण्डै साढे ५ प्रतिशतले घटेको छ।
कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३४४ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर १० अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएको छ।







