ट्रम्प र मोदीबीच फोनवार्ता, के भयो कुराकानी ?

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार साँझ फोनवार्ता भएको छ ।
प्राप्त समाचारअनुसार उनीहरूबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड–१९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।

फोनावार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्रराष्ट्र भएको बताएका थिए ।
अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरूलाई सन्देश दिने क्रममा सो धारणा राखेका हुन् । वासिङ्टनमा सम्वाददाताहरूसँग राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आफ्नो शुक्रबार साँझ नै फोनवार्ता भएको बताएका थिए ।

त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरूसँग भने – तपाईँहरूका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आज मात्र पनि कुराकानी भएको थियो ।
’भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो’, अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस अवसरमा भने । उनले भनेका थिए, ’हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एकापसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ ।’

अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उनले जानकारी दिएको समाचारमा बताइएको छ । राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिक बसिरहेको र उनीहरू अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताएका थिए । उनले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराए ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसै वर्षको फेब्रुअरीमा आफ्नो परिवारसहित भारतको भ्रमणमा आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गतवर्ष अमेरिकाको भ्रमण गरेका थिए ।  कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधी सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ ।

यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । भारतमा आजसम्म ८५ हजार ९४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७०० भन्दा बढीको ज्यान गएको बताइएको छ । उता अमेरिका यो महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको सङ्ख्या ८८ हजार ५०७ जना पुगेका छन् ।

त्यसैगरी, अमेरिकामा मात्र सङ्क्रमणमा पर्ने नागरिकको सङ्ख्या १४ लाख ८४ हजार २८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ३ लाख ८ हजार ६७६ जना रहेको छ । यस सङ्क्रमणका पूरै सङ्क्रमितको सङ्ख्या भने ४६ लाख २९ हजार ४०७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्