मेरो भ्वाइस र डान्स युनिभर्सका प्रतिभालाई राष्ट्रपति पौडेलको स्वागत

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभरबाट नेपाल आएका “मेरो भ्वाइस युनिभर्स” र “मेरो डान्स युनिभर्स” का प्रतियोगीहरूलाई शीतल निवासमा एक विशेष समारोहमार्फत स्वागत गरेका छन्।

परोपकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका को आयोजनामा नेपालमा जारी दुई प्रमुख रियालिटी शोका प्रतिभाहरूलाई बिहीबार बिहान राष्ट्रपति निवासमा सम्मान गरिएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली संस्कृति जगेर्ना गर्न संसारभर छरिएर रहेका नेपालीहरूको प्रयासको प्रशंसा गरे।

राष्ट्रपतिले सहभागी कलाकारहरूलाई नेपाली संस्कृतिका सांस्कृतिक दूतको रूपमा उल्लेख गर्दै आफ्नो स्थानबाट नेपाली पहिचानलाई विश्वसामु चिनाउन आग्रह गरे। उनले भने, “विश्वभर फैलिएका नेपाली भाषीहरूको योगदानले नेपाली सांस्कृतिक राष्ट्रवादलाई जीवन्त बनाइरहेको छ।”

कार्यक्रममा इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले ६० देशमा बसोबास गरिरहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यले दुई रियालिटी शो सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार २३ देशबाट नेपाली प्रतिभाहरू नेपाल ल्याइएको छ।

सोही क्रममा केही प्रतिस्पर्धीहरूले सात पुस्तापछि मातृभूमि टेक्न पाएको भावनात्मक क्षण सुनाउँदा राष्ट्रपति भावुक बनेका थिए। कार्यक्रमका दौरान नेपालगञ्जका शिवराज विश्वकर्मा र बेलायतकी युक्ति विमलीले प्रस्तुत गरेको देशभक्तिपूर्ण गीतले वातावरण भावनात्मक बनाएको थियो।

कार्यक्रमको अन्त्यमा फाउण्डेसनका नेपाल च्याप्टर अध्यक्ष बाबुकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई पुष्पगुच्छा अर्पण गर्दै नेपाली प्रतिभाहरूप्रतिको सम्मानका लागि आभार व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्