अफगानिस्तान सरकारद्वारा तालिवान आन्दोलनका एक हजार समर्थक रिहा

काठमाडौं – अफगानिस्तान सरकारले तालिबान आन्दोलनका एक हजार समर्थकलाई रिहा गरिदिएको छ ।

विद्रोही पक्ष र सरकार पक्षका बीचमा वार्ताका लागि वातावरण बनाउन सजिलो होस् भन्ने उद्देश्यले उनीहरुलाई रिहा गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अफगान सुरक्षा राष्ट्रिय परिषद्का अधिकारीहरुले भनेका छन्, “कोरानाभाइरस विरुद्धको लडाई र शान्ति सुरक्षा कायम गर्नका लागि एक हजार जनालाई रिहा गरिएको हो ।” उनीहरुको रिहाईले हिंसा अन्त्य गर्न र शान्ति स्थापना गर्नका लागि सिधै वार्ता शुरु गर्न सजिलो हुने विश्वास पनि सरकारी अधिकारीहरुले गरेका छन् ।

अफगानिस्तानमा शान्ति स्थापना गर्नका लागि भन्दै गत फेब्रुअरीमा तालिवान पक्ष र अमेरिकी पक्षका बीचमा कतारको दोहामा सम्झौता भएको थियो । उनीहरुका बीचमा शान्ति सम्झौता भएपनि अफगानिस्तानमा शान्ति स्थापना हुन भने सकेको छैन । अनेक समूहबाट हिंसात्मक गतिविधिहरु भइरहेका छन् ।

अमेरिकी पक्ष र तालिबान पक्षका बीचमा भएको सम्झौताका आधारमा तालिबान पक्ष पाँच हजार बन्दीहरुलाई रिहा गर्न माग गरेको छ । अफगान सरकारले पनि उनीहरुलाई चरणबद्ध रुपमा रिहा गरिने जनाएको छ । (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्