दुई करोड १० लाख रुपैयाँ लागतको मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण

काठमाडौं, – म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्मित शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना नपुग्दै जीर्ण भएको छ ।

पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो । एकतीस मिटर लम्बाइको सो पुलको बीच भागमा दुई भ्वाङ परेको स्थानीय पत्रकार सेते तिलिजाले जानकारी दिए । कमसल निर्माण सामग्री प्रयोगका कारण पुलको अवस्था जीर्ण बनेको र ठेकेदारले लापरबाही गरेको स्थानीयवासीले आरोप लगाएका छन् । ठेकेदार कम्पनी स्वच्छन्द गौचन जेभीका प्रतिनिधि ओभरसियर सुनम बरालले पुल निर्माणको अवधि चैत मसान्तसम्म रहेकामा कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेका कारण काम स्थगन गरिएको बताए ।

उनले पुलको संरचनामा कुनै क्षति नपुगेको तर वर्षाका कारण पुल वरपरको भाग अलिकति भासिएको प्रतिक्रिया दिए ।स्थानीयवासीले भने पुलमा नै दुई भ्वाङ परेको र जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

जिल्ला पूर्वाधार विकास समितिका प्रमुख ओमलाल ढुंगानाले ठेकेदार कम्पनीका प्रतिनिधि र कामदारले काम गरिरहेका अवस्थामा लकडाउन भएका कारण गत चैत १७ गते पास दिएर घर पठाइएको र बाँकी काम लकडाउन खुलेपछि गरिने बताए । (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्