दैलेखको चामुण्डा विन्द्रसैनीमा लकडाउन उल्लंघन गरी सडक निर्माणः विवादपछि स्थानीय र प्रहरीबीच झडप

दैलेख – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।

ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।

साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०–६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो । प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको हो”, नगरपालिकाका उपप्रमुख तारा शाहीले भनिन् । शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो । उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भीडभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए । उनले त्यो घटनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानूनअनुसार अघि बढ्ने पनि बताए । अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारवाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्