भारतको उत्तरप्रदेशमा एक दिनमै एक अर्बको मदिरा बिक्री, पसलेले गरे ग्राहकमाथि पुष्पवर्षा

काठमाडौं – लामो समयपछि भारतको केही राज्यमा मदिराको पसल खोल्न सोमबार अनुमति दिइयो । अनुमति दिएको केही मिनेट नबित्दै शहरका मदिरा पसल अगाडि दुई दुई किलोमिटरसम्म मानिसहरुको भिड जमा भयो । उक्त भिड मंगलबार पनि देखिएको छ । मदिरा खरिद गर्न जमा भएको भिड व्यवस्थापन गर्न कतिपय शहरमा प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो ।
भारतमा मार्च २५ देखि लकडाउन कडाइपूर्वक लागू छ । मदिरा पसल खोल्न अनुमति दिने सरकारी निर्णय वर्षौंको खडेरीपछि पानी परे झैं भयो । कोभिड–१९ तिब्र रुपमा फैलिरहँदा मदिरा पसल खोल्ने अनुमतिपछि सामाजिक दूरीको मापदण्ड पूर्णरुपमा तोडिएको छ । एकै पसल अगाडि पाँचसयदेखि एकहजार मदिरा खरिद गर्नेको भिड जमा भएको छ ।
यूरोप र अमेरिकापछि कोभिड–१९ को संक्रमण भारत र रुसमा तिब्र रुपमा फैलिदैछ । यस्तो अवस्थाका बावजूद सर्वसाधारणले जोखिमका बीच खुला रुपले बजार, पसलमा पंक्तिमा उभिएका छन् । मदिराका लागि भारतीय शहरहरुमा देखिएको भिडले सरकारलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्ने अवस्थामा ल्याइ पुर्याएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार साँझ त अवस्था यस्तै रहे दुईदिन भित्रै पसल बन्द गर्ने निर्णय लिन बाध्य हुने बताए ।
महाराष्ट्र राज्य कोभिड–१९ को उच्च जोखिममा छन् । संघीय सरकारले अनुमति दिएपनि राज्य सरकारको बैठकमा पसल खोल्न दिने नदिने बारे चार घण्टा लामो छलफल नै चल्यो । अपरान्ह तीन बजे पसल खोल्ने अनुमति स्वीकृत हुँदा कतिपय घर फर्किसकेका थिए । यद्दपी उत्तरप्रदेशसहित केही राज्यका ठूला शहरमा भने संघीय सरकारको अनुमतिका बावजूद मदिरा पसल खोलिएन । उत्तरप्रदेशको औरङ्गाबाद र सोलापुर जिल्लामा भने प्रशासनले पसल खोल्न दिएन । उत्तरप्रदेशकै मिर्जापुरमा केही पसलेले त ग्राहकमाथि पुष्पवर्षा नै गरेर स्वागत गरे ।

बैंग्लौरमा मदिरा खरिद गर्न लामो लाइन देखियो । जहाँ महिलाको उपस्थिति पनि ठूलै देखिएको भारतीय अखबार द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
भारतको उत्तरप्रदेशमा मदिराको खरिदबिक्रिमा औसतमा दैनिक ७० देखि ८० करोड रुपियाँको कारोबार हुन्छ । तर सोमबार सामान्य दिनको जम्मै कारोबारबाट माथि पुगेर एक अरबको ब्यापार भएको उत्पादन शुल्क विभागले जनाएको छ । उत्तरप्रदेशका लखनऊमा मात्रै करिब छ करोड ३० लाखको मदिरा खरिद बिक्रि भएको हो ।
मदिरा अभाव भएपछि पसलेले अपरान्ह नै पसल बन्द गरेर घरतिर लाग्नुपर्यो । भारतको आन्ध्रप्रदेशमा सन् २०१४ मा साइक्लोन गएको भोलीपल्ट मात्रै यस्तो भिड देखेको एकजना स्थानीयलाई उद्धृत गर्दै टाईम्स अफ इन्डियाले लेखेको छ ।
मदिरा खरिद गर्नेको भिड र आपूर्तिमा समस्या भएपछि राजस्थानमा पसल खोल्न अनुमति दिइएको दुई घण्टा नबित्दै उत्पादन शुल्क विभागले पसल बन्द गर्न आदेश जारी गर्यो ।
छत्तीसगढ राज्यको महासमुन्दमा भने मदिरा पसल खोल्ने सरकारी अनुमतिका विरुद्ध महिलाहरु सडकमा आउनुपर्यो । मदिरा पसल महिनौंसम्म बन्द हुँदा घर परिवारमा शान्ती आएको उनीहरुको तर्क थियो ।–गोरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्